असोज १ गतेबाट बञ्चरेडाँडामा उपत्यकाका फोहोरमैला फाल्न नदिने स्थानीयको घोषणा

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले असोज १ गतेबाट उपत्यकाको फोहोरमैला बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजान सधैंका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक श्रीराम ढुंगानाले उपत्यकाको फोहोरमैला घरबस्तीमा लान बन्द गर्ने अभियानमा लाग्नुपर्ने बाध्यकारी परिस्थिति आएको भन्दै फोहोर फ्याल्न नदिने घोषणा गरे ।

उनले काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकासमेतको संयुक्त षड्यन्त्रद्वारा प्राविधिकलाई आफ्नो एकाधिकार सामेल गराएर नकारात्मक प्रभाव परेको क्षेत्रमा कुनै प्रभाव नरहेको भन्ने काल्पनिक प्रतिवेदन तयार गर्न लगाएको जिकिर गरे।

उक्त क्षेत्रमा आम नरसंहार, मानव अस्तित्व नै समाप्त गराउने भीषण योजनामा महानगरपालिका लागेको भन्दै फोहोरमैला प्रवेश गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको पनि ढुंगानाले बताए।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले विगत २०५१ भदौ २८ गते स्थानीय विकास मन्त्रालय काठमाडौं महानगरपालिका, ललितपुरसमेतले ओखरपौवा र चाउथेका जनप्रतिनिधि समेतको संयुक्त बैठकमा गरेको सहमति र निर्णय आजसम्म कार्यान्वयन नभएको गुनासो गरेको छ।

समितिले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरुपको कार्यान्वयन अविलम्ब गर्न मागसमेत गरेको छ।

ल्याण्डफिल साइटमा अटेर गरी प्रवेश गरे गराएमा, विषम परिस्थिति सिर्जना गराई दुर्घटना गराएमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकाहरू त्यसका योजनाकारहरू फोहोरमैला ढुवानीमा प्रयोग भएका सवारीधनीहरू चालकहरू जिम्मेवार हुनुपर्ने भन्दै स्थानीय नागरिक जवाफदेही नहुने चेतावनी पनि समितिले दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *