
दुई विशाल अर्थतन्त्रबाट लाभ उठाउने गरी नीति बन्नुपर्छ : महामन्त्री शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्व अर्थतन्त्रका दुई ठूला छिमेकी मुलुकको आर्थिक प्रगतिबाट लाभ उठाउने गरी नीतिगत तयारी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पोलिसी ह्याकथन समापन कार्यक्रमलाई सम्बोधन गर्दैै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले भने, ‘हाम्रो उत्तरमा र दक्षिणमा भएको विशाल-विशाल अर्थतन्त्रबाट लाभान्वित हुनुपर्छ। यो बेलामा हामी युवाहरूको बीचमा उभिएर भन्न चाहन्छौं, समुद्र नहुनुको पीडाबाट नेपाल मुक्त हुनुपर्छ।’
उनले सन् २०५० सम्ममा उत्तरी छिमेकी चीनको अर्थतन्त्र ५८ ट्रिलियन र दक्षिणी छिमेकी भारतको ४६ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र हुने भन्दै यी दुई विशाल अर्थतन्त्रबाट लाभान्वित हुन युवालक्षित विषय र नीतिलाई राजनीतिक दलले समेट्नुपर्ने बताए।
‘हामी प्रकृतिको समुद्रको बीचमा भएर होला, तर दुईवटा प्रगतिको समुद्रको बीचमा जाँदैछौँ। त्यो बेलामा नेपाली कांग्रेस पार्टी होस् वा अन्य कुनै राजनीतिक दलले आफ्नो काम गर्ने शैलीमा युवाले सोचिरहेको विषय र नीतिहरूलाई देशको गम्भीर केन्द्रमा राख्नुपर्छ।’
नेपाली कांग्रेसले देशभरिका युवाका विचार, विषय र नीतिलाई महत्त्व दिँदै पार्टीमा तिनका एजेण्डालाई स्थान दिने हेतुले पोलिसी ह्याकथन कार्यक्रमको आयोजना गरेको छ।
अनलाइन आवेदनमार्फत नीतिपत्र पठाउने २२७ टोलीमध्येबाट छानिएका १० उत्कृष्ट टोलीको नीतिपत्र आज प्रस्तुत गरिएको छ।
प्रतिक्रिया