राजसंस्थाको एजेण्डामा फर्किए कमल थापा

कमल थापा नेतृत्वकाे राप्रपा नेपालले राजसंस्था पुनःस्थापनाको मुख्य मागसहित आन्दोलन घाेषणा गरेकाे छ।

बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बैठकले राजसंस्था पुनःस्थापनाको मुख्य माग लिएर आन्दोलनको घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘अब संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रसमेत राप्रपा नेपालको मूलभुत विचार हुनेछ। राजसंस्था पुनःस्थापनाको मुख्य माग लिएर राप्रपा नेपालले आन्दोलन गर्ने घोषणा गरेको छ।’

राजेन्द्र लिङ्देनसँग राप्रपा अधयक्षमा पराजित भएपछि राप्रपा त्यागेर राप्रपा नेपाल ब्युँताएका थापा १८ महिनापछि पुनः राजस्थाको एजेण्डामा फर्किएका हुन्।

अध्यक्ष थापाले भुटानी शरणार्थी प्रकरण र सुन तस्कर जस्ता भ्रष्टाचारमा राज्य संयन्त्र संलग्न रहेको आरोप लगाए।

उनले भने, ‘नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थी बनाउने मानव तस्करी गरेर विदेश पठाउने यो काम केबल सामान्य कर्मचारी र व्यापारीबाट होइन, देशका ठूला नेता, स्वयं गृहमन्त्री जसले शान्तिसुरक्षाको जिम्मा लिएको छ, तिनै व्यक्ति यस्तो जघन्य मानव तस्करीमा संलग्न छन्। क्विन्टल सुन तस्करी भएको छ। यसमा पनि राज्य संयन्त्र संलग्न रहेको छ।’

कुनै दलमा विभाजन नभई देशको स्वाभिमान रक्षाका लागि सबै एकै स्थानमा उभिनुपर्ने पनि अध्यक्ष थापाको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *