कालीगण्डकीको बहाव यस वर्षकै उच्च बिन्दुमा, शालिग्राम शिला डुबानमा

तटीय क्षेत्रका बासिन्दा जोखिममा

लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ।

मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो। दुई वर्षयताकै उच्च बिन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताए।

उनले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताए। अहिलेको पानीको बहाव झन्डै दुई सय ८३ क्युसेक रहेको छ। यो यस वर्षकै सबैभन्दा बढी मापन हो। यसअघि गत साउनमा सात दशमलव ४० मिटरको बिन्दुसम्म पुगेको थियो। वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना रहेको उनले बताए।

कालीगण्डकी नदीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्। पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका हुन्।

बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ। शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन्। पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले बताए। शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रूपमा क्षति पुगेको उनले बताए।

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो। बाँधका सबै ढोका भने खोलिएका छन्। कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जा तर्फको बजार क्षेत्रका झन्डै दुई सय व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन्।

विगत १४ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए। वि. सं. २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए। उनले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिए।

स्थानीय प्रहरी चौकीका अनुसार अहिलेसम्म पनि पानीको बहाव उच्च छ। बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तलमुनिको सिँढीसम्म पानीको बहाव आइपुगे पनि खतरा भने बजारवासीलाई नरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर