लगानी बोर्डको ५५ औं बैठक

चार जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोडकाे लगानी स्वीकृत

लगानी बोर्डले चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत परियोजनाका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको हो।

शुक्रबार बिहान बोर्डको नयाँ बानेश्वरस्थित कार्यालयमा प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बोर्डको ५५ औं बैठकले सो लगानी स्वीकृत गरेको हो।

बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने पनि निर्णय गरेको छ।

त्यस्तै दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमाालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ।

साथै बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता राइजन इनर्जी कम्पनी लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषदसमक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ।

यसका अतिरिक्त बोर्डको बैठकले ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट (सीएएन) मल कारखाना स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रेनिकोला होल्डिङ्ससँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।

बैठकमा विभिन्न परियोजनाहरूका सम्बन्धमा गहन छलफल भई महत्त्वपूर्ण निर्णय भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा जलविद्युत परियोजनाहरूको परियोजना लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन/विश्लेषण गर्न निर्देशन दिए।

कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायहरूलाई उनको निर्देशन थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर