अवरूद्ध जोमसोम-मुक्तिनाथ सडक सञ्चालनमा

बुधबार साँझदेखि अवरूद्ध बनेको जोमसोम-मुक्तिनाथ सडक सञ्चालनमा आएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरूद्ध बनेको थियो।

दुई पालिकाको सिमाना पान्डाखोला नजिक पूर्वतर्फको लुप्रा पान्डाखोलाको बाढीले धार परिवर्तन गरी दक्षिणतर्फको मुख्य राजमार्गअन्तर्गत सडकमा सोझिँदा सडक अवरूद्ध बनेको थियो। बाढीले करिब २० मिटर सडक कटान गरेर क्षति पुर्‍याएको थियो।

आज बिहानदेखिको प्रयासपछि पहिरो पन्छाएर सडक सञ्चालन गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापामगरले जानकारी दिए।

बर्खायामको मौसममा लुप्रा पान्डखोलामा बर्सेनि बाढीले अनियन्त्रित हुँदा समस्या हुने गरेको उनको भनाइ छ। भौगोलिक रूपले निकै अप्ठ्यारो हुँदा बेलाबेला समस्या आइरहने थापामगरले बताए।

सडक अवरूद्ध हुँदा मुक्तिनाथबाट फर्किने र जोमसोमबाट मुस्ताङ जाने पर्यटक सडकमा अलपत्र परेका थिए।

त्यस्तै बाढीका कारण अवरूद्ध राष्ट्रिय गौरवको आयोजाना कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडक पनि पाँच दिनपछि सञ्चालनमा आएको छ। उक्त सडकखण्ड शुक्रबारदेखि अवरूद्ध बनेको थियो । यसअघि अबिरल वर्षासँगै बेनी-जोमसोम राष्ट्रिय राजमार्गअन्तर्गत म्याग्दी खण्डमा चार दर्जन बाढी स्थानमा पहिरो र नदी कटानले सडक अवरूद्ध हुँदै आइरहेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खाम भित्तामा सडक बेस नै पहिराले भाँसिएको थियो। अन्य स्थानका विभिन्न ठाउँमा पहिरो खसेपछि म्याग्दी हुँदै मुस्ताङ जाने सवारी साधन गन्तव्यमा पुग्न सकेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *