सुरक्षा

सरूवालाई सामान्य रूपमा लिएको छु, आफ्नो कार्यकालको कामबाट सन्तुष्ट छु : एसएसपी कार्की

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले आफ्नो सरूवालाई सामान्य रूपमा लिएको बताएका छन्।

परिसरबाट सरूवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा आफूले गरेका कामबाट आफू सन्तुष्ट रहेको बताउँदै सरूवालाई सामान्य रूपमा लिएको बताए।

उनले भने, ‘आवश्यकताअनुसार सरूवा हुन्छ। सरूवा काम गर्नका लागि हो। आफ्नो तोकिएको काम गर्ने हो। मलाई तोकिएको काम मैले यहाँ गरेँ,’ उनले भने, ‘अब आउनेले पनि गर्नुहुन्छ। कानूनले तोकेबमोजिमको काम गर्ने हो। अर्को ठाउँ गए पनि मेरो काम निरन्तर हुन्छ। सामान्य छ यो कुरा। हाम्रो संगठनले दिएको भूमिका निर्वाह गर्ने हो। त्यसमा म खुसी छु।’

उनले २०७९ माघदेखि २०८० साउन महिनासम्मको कार्यकालमा प्रहरी हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरेको विषयलाई उल्लेख्य कामको रूपमा अर्थ्याए।

कैदीहरू आफ्नो शुद्धीकरणका लागि पुस्तकको प्रयोग गर्न सक्ने भन्दै प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताए।

यस्तै उक्त कार्यकालमा जिल्ला प्रहरी परिसर, काठमाडाैं तथा मातहतसमेतको सेवा लिन आएका सोह्र हजार पाँच सय पैंसठ्ठी सेवाग्राहीहरूलाई सेवा प्रदान गरेको र यस परिसर तथा मातहत कार्यालयहरूमा ८३ वटा सीसीटीभी जडान गरेको बताए।

वृत कालिमाटीमा १८, बानेश्वरमा १६, जनसेवामा १३, दरबारमार्गमा १४, बालाजुमा ६, स्वयम्भूमा ५, प्रभाग कपनमा ४ र साँखुमा ७ वटा जडान गरिएको हो।

उक्त अवधिमा बैंकिङ कसुरमा ४ हजार ७ सय २३ निवेदन दर्ता भएकामा ७ सय २१ जना पक्राउ परेको उनले जानकारी दिए।

त्यस्तै अभद्र व्यवहारमा १ हजार ९ सय १७, २ हजार ५ सय २० जना पक्राउ परेको र चोरीसम्बन्धी कसुरमा ४ सय २४ मुद्दा दर्ता भएकोमा ६ सय ४३ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

त्यस्तै ठगीमा २४३ मुद्दा दर्ता र १ सय ८१ जना पक्राउ परेको, लागुऔषधमा मुद्दा २ सय २२ दर्ता र ३ सय ८७ पक्राउ, आत्महत्यासम्बन्धी कसुरमा २ सय ४८ मुद्दा दर्ता भएको छ भने पक्राउ भने कोही परेका छैनन्।

यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा २ सय २४ दर्ता, २१७ पक्राउ, सवारी ज्यान तथा अंगभंगसम्बन्धी कसुरमा ११५ दर्ता, ११८ जना पक्राउ, कर्तव्य ज्यानमा १३ दर्ता, १७ पक्राउ र अन्य अपराधमा ७९४ मुद्दा दर्ता र ११३६ जना पक्राउ परेको परिसरले जनाएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माघदेखि साउन महिनासम्ममा काठमाडाैं जिल्लाका विभिन्न स्थानहरूमा विभिन्न सरोकारवाला निकायहरूसँगको सहकार्यमा १ हजार ८ सय ५१ वटा कार्यक्रम सम्पन्न भएको र त्यसबाट १ लाख ४७ हजार ९ सय ५ जना लाभान्वित भएको परिसरको दाबी छ।

त्यसैगरी उक्त अवधिमा राजनीतिक गतिविधिहरू पनि प्रशस्त रूपमा भएका छन् जसमध्ये धर्ना २३५, कोणसभा ५८, विरोध जुलुस ३४८, विरोध र्‍याली ९७, अनसन १२ र तालाबन्दी ४५ वटा भएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर