भारतले रच्याे इतिहास, चन्द्रयान-३ सफलतापूर्वक अवतरण
भारत चन्द्रमाकाे सतहमा पुग्ने विश्वको चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले इतिहास रचेको हो।
उसको चन्द्रयान-३ नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको हो।
यो ध्रुवमा सफलतापूर्वक यान पुर्याउने भारत पहिलो मुलुकसमेत बनेको छ।
श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो भारतीय समयअनुसार २:३५ मा उडेको चन्द्रयान-३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ।
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ को सफल अवतरणपछि ब्रिक्स सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सम्बोधन गरे।
प्रधानमन्त्री मोदीले भने, ‘मेरा प्यारा परिवारजन, जब हामी आफ्नो आँखा अगाडि यस्तो इतिहास बनिरहेको देख्छौं, जीवन धन्य हुन्छ। यस्ता ऐतिहासिक घटनाहरू राष्ट्रको जीवनको चेतना बन्छन्। यो क्षण अविस्मरणीय छ। यो क्षण अभूतपूर्व छ। यो क्षण विकसित भारतको समृद्धिको हो। यो क्षण नयाँ भारतका जयघोषको हो। यो कठिनाइको महासागर पार गर्ने क्षण हो। यो चन्द्रमा विजयको बाटोमा हिँड्ने क्षण हो। यो क्षण १४० करोड धड्कनकाे सामर्थ्यकाे हो। यो भारतमा नयाँ ऊर्जा र नयाँ चेतनाको क्षण हो।’
प्रतिक्रिया