प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

आजका लागि बोलाइएको संसद बैठक पनि बस्दै नबसी स्थगित भएको छ। संसद सचिवालयले विशेष कारणले बैठक बस्न नसकेको सूचना निकालेर बैठक भोलिसम्मका लागि सारेको छ।

‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३:०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को अवरोधका कारण साउन १० यताका सबै संसद बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन्। बैठक सुरू हुनासाथ एमालेको अवरोध तथा अवरोध कायम राख्ने अडानले बैठक अवरूद्ध तथा स्थगित हुँदै आएको हो।

आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएर यसबारे सत्तारूढ तथा विपक्षी दलका नेताहरूको ध्यानकर्षण गराएका थिए। तर, बैठकमा संसद अवरोध गर्दै आएको एमालेका नेता भने सहभागी भएनन्।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने संसद खुलाउने विषयमा सहमति नजिक पुगेको बताएका छन्।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गरिरहेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर