हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन उद्घाटन

सरकार विद्युतबाट अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागिपरेको छ : प्रधानमन्त्री

'चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावनाबारे छलफल हुन्छ'

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागेको बताएका छन् ।

भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उद्घाटन गर्दै उनले सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको भन्दै भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको बताए ।

यस्तै उनले बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको भन्दै आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावनाबारे छलफल हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले विद्युत विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिइनुपर्ने बताउँदै विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीव्रता आएको बताए ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलियतपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कुल लागत एक अर्ब ५२ करोड रूपैयाँ छ ।

हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कुल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने क्षमता छ ।

हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरू भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरू गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *