भक्तपुर बाल सुधार गृहबाट भागेका १९८ जना नियन्त्रणमा, २३ अझै फरार

एक कैदीको मृत्युका कारण उत्पन्न तनावपछि भक्तपुरको मध्यपुरथिमी नरपालिका-२, सानोठिमीस्थित बाल सुधार गृहको ढोका फोडेर भागेका कैदीबन्दीमध्ये १९८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भागेका २२१ जनामध्ये १९८ जनालाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १०८ जनालाई भक्तपुरबाटै र ९० जनालाई काठमाडौंबाट पक्राउ गरिएको हो।

भागेकामध्ये केही भक्तपुरबाट समूहमा तीनकुनेसम्म आएका थिए। २९७ जना कैदीबन्दी रहेको सुधार गृहबाट ४३ महिला र ३३ पुरूष गरी ७६ जना भने भागेका थिएनन्।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा १० जना प्रहरी र सुधार गृहभित्रका १४ जना कैदीबन्दी घाइते भएका छन्।

अहिले पनि महानगरीय प्रहरी कार्यालयका एसएसपी ओम राना, दिनेश मैनाली र एसपी दयानिधि ज्ञवाली घटनास्थलमै छन्।

बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका एक किशोरको आइतबार बिहान मृत्यु भएको थियो। सो विषयलाई लिएर आफन्तको प्रदर्शन तथा तोडफोडपछि साेमबार दिउँसो १:४५ बजे सुधार गृह तनावग्रस्त बनेको थियो।

रामेछापको मन्थली नगरपालिका-३, कठजोरका २१ वर्षीय कमल बस्नेतको रहस्यमय ढंगले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेका थिए।

बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका कैदीबन्दीले पनि भित्रैबाट नाराबाजी गरेका थिए। सोही क्रममा कैदीबन्दीहरू सुधार गृहको ढोका फोडेर भागेका थिए।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार सुधार गृह फोडेर भागेकाहरूले सुधार गृहबाहिर प्रहरीमाथि नै आक्रमण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर