मेरा विरूद्ध राजनीतिक षड्यन्त्र हुने गरेको छ : आरजु राणा
नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा. आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधि विधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएकी छन्।
आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रधिनिधिसभा सदस्य डा. राणाले भनिन्, ‘जुनसकै पनि जीवन्त पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुन सक्छ। तर त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधि विधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ।’
उनले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्ने सुझाव कार्यकर्तालाई दिइन्। उनले भनिन्, ‘ममात्रै हुँ, मबाहेक अरूबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ।’
नेत्री डा. राणाले पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गर्न जरुरी रहेकोमा पनि जोड दिइन्। अरू राजनीतिक दलहरूले आफूले गरेका साना कामहरूको पनि तिललाई पहाड बनाएर प्रचार गर्ने गरेको तर कांग्रेसले देश, व्यवस्था र नेपाली नागरिकका पक्षमा गरेका कैयौँ राम्रा कामहरूको पनि प्रचार गर्न नसकेको बताइन्।
अर्काे एक छुट्टै प्रसङ्गमा नेत्री राणाले आफूबाट कुनै गल्ती या कमीकमजोरी नभए पनि आफ्नाविरूद्ध राजनीतिक षड्यन्त्र हुने गरेको गुनासो गरिन्। उनले भनिन्, ‘मैले कहीँकतै कुनै गल्ती गरेको छैन। राजनीतिक रूपमा जे गरेको छु आफ्नो पार्टी तथा देशका लागि गरेको छु, तर पछिल्लो समयमा मेरा विरूद्धमा षड्यन्त्र हुने गरेको छ। मेरा विरूद्धमा अनर्गल प्रचार मात्र हुने गरेको छ।’
कार्यक्रममा डा. राणालाई विकासका कामका लागि उनले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको थियो।
उक्त भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यत्रय सुशीला मिश्र भट्ट, नृपबहादुर ओड र डा. जीवन रानाथारू, प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता कमलबहादुर शाहलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा धारणा राखेका थिए।
भेलामा नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट पहिलो विद्यावारिधि प्राप्त गर्ने कांग्रेसका केन्द्रीय सदस्य डा. जीवन रानाथारूलाई पनि सम्मान गरिएको थियो।
प्रतिक्रिया