भक्तपुर बाल सुधार गृह तनावग्रस्त

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-२, सानोठिमीस्थित बाल सुधार गृह तनावग्रस्त बनेको छ।

बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका एक किशोरको आइतबार मृत्यु भएको थियो। सो विषयलाई लिएर आफन्तको प्रदर्शन तथा तोडफोडपछि सुधार गृह तनावग्रस्त बनेको हो।

रामेछापको मन्थली नगरपालिका-३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार  बिहान रहस्यमय ढंगले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेका थिए।

बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका थुनुवाले पनि भित्रैबाट नाराबाजी गरेका थिए। सोही क्रममा थुनुवाहरू सुधार गृहको ढोका फोडेर भागेका थिए।

अपुष्ट खबरअनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली चलाएको छ। यद्यपि सुरक्षा अधिकारी र भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने यसको पुष्टि गरेनन्।

 

सुधार गृह फोडेर भागेकाहरूलाई प्रहरीले तीनकुनेसम्मबाट नियन्त्रणमा लिएको छ। कति संख्यामा थुनुवा भागे भन्ने यकिन हुन बाँकी रहेको र थप छानबिन भइरहेको उनले बताए।

उनका अनुसार सुधार गृह फोडेर भागेकाहरूले सुधार गृहबाहिर प्रहरीमाथि नै आक्रमण गरेका थिए। सो क्रममा केही संख्यामा प्रहरी र सशस्त्र प्रहरी घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी रिजालले बालबालिकालाई मात्रै सुधार गृहमा राख्ने नियम भए पनि १८ उमेर नाघेकालाई सरकारले कारागारमा पठाउने व्यवस्था नगर्दा सुधार गृहमा १८ वर्षभन्दा माथि उमेरका केटाकेटीसमेत रहेको बताए।

उनका अनुसार सुधार गृहमा करिब ३०० जना थुनुवाहरू छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *