कृषि

मौरीको चरन क्षेत्र बन्दै तनहुँ

मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ ।

तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुने हुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको विज्ञहरु बताउँछन् ।

नेपालमा विशेषगरी दुई प्रजातिका मौरीपालन गरिन्छ । सेरेना र एपिस मेलिफेरा प्रजातिका मौरी बढी पालिने गरिएको पाइन्छ । तराई क्षेत्रमा तीनदेखि चार महिनासम्म अत्यधिक गर्मी बढ्ने भएकाले अन्यत्र चरन क्षेत्र खोज्नुपर्ने अवस्था रहन्छ । मौरीको उत्पादन राम्रो लिनका लागि उचित तापक्रमको पनि किसानले ख्याल गर्नुपर्ने हुन्छ ।

चरन क्षेत्रका लागि तनहुँलाई उपयुक्त मानिएको विज्ञहरू बताउँछन् । अत्यधिक गर्मीको समयमा चितवनभन्दा तनहुँमा गर्मी कम हुनु र फूलको विविधताले गर्दा चरनका लागि तनहुँ ल्याइने गरिएको भरतपुर महानगरपालिका-१, रामनगरस्थित मौरीपालक एवं प्रा. डा. खेमराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार मौरीको उत्पादन वृद्धिका लागि पनि एक ठाउँबाट अर्को ठाउँमा समय समयमा सार्दा राम्रो हुन्छ । तराईमा मह उत्पादनका लागि मौरीलाई वर्षमा दुईदेखि चार महिना चरन क्षेत्रको अभाव हुने गरेकाले तनहुँलाई चरन क्षेत्रका रूपमा यहाँ ल्याइने गरिएको उनले बताए ।

न्यौपानेले भने, ‘गर्मीको समयमा तनहुँको तापक्रम पनि करिब ३५ डिग्री सेन्टिग्रेडसम्म हुन्छ, यहाँ मौरीलाई आवश्यकपर्ने फूल फुल्ने समय हो, यसले उत्पादनमा सहयोग पुग्छ, त्यसैले यहाँ मात्रै होइन समय समयमा विभिन्न स्थानमा मौरी लगिने र ल्याउने गरेका छौँ ।’

यस समयमा यहाँका फूलको रसको विविधताका कारण मह मिठो, पौष्टिक र औषधिजन्य उत्पादन हुने गरेको उनले बताए । ‘मौरीलाई आवश्यकपर्ने फूलको रस र पराग नेपालको हिमाली क्षेत्रबाहेक अन्य स्थानमा बाह्रै महिना सित्तैमा उपलब्ध हुन्छ, जुन मौरीले मात्रै सदुपयोग गरी मह, कुट बनाउँछ,’ उनले भने ।

उपलब्ध चरन क्षेत्रका आधारमा नेपालमा व्यावसायिक रूपमा कम्तीमा चार-पाँच लाख एपिस मेलिफेरा मौरी पाल्न सकिने आकलन गरिएको छ । हाल नेपालमा यस प्रजातिका मौरी करिब ४० हजार जति रहेको बताइएको छ ।

चरन क्षेत्रका लागि तनहुँ उपयुक्त भएको मौरीपालक किसान बताउँछन् । चैत, वैशाख, जेठ र असार पहिलो सातासम्म तराई क्षेत्रका मौरीका लागि चरन क्षेत्र अभाव हुने हुँदा यहाँ ल्याएर मह उत्पादनमा सहयोग पुर्‍याउने गरिएको मौरीपालक किसान तथा विज्ञ बताउँछन् ।

तराई क्षेत्रमा बढी गर्मी र चरन क्षेत्रको अभाव हुने समयमा तनहुँ चरन क्षेत्र बन्दै गएको हो । चरन क्षेत्र अभाव हुँदा मौरीले मह उत्पादन कम गर्ने भएकाले पनि फूल हुने स्थानमा लगिने गरिएको न्यौपानेले बताए ।

‘मौरीपालक किसानले एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने विषयमा जानकार हुनुपर्छ, स्थानान्तरण गर्ने प्रक्रियाले नै मह, कुट उत्पादन वृद्धि हुन्छ, जसले गर्दा आम्दानी बढ्ने हो,’ उनले भने । चरन क्षेत्रको अभावमा मौरीलाई चिनी खुवाएर राख्नुभन्दा उपयुक्त क्षेत्रको खोजी गरी लगिँदा मह उत्पादन वृद्धि हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार चरन क्षेत्रको अभावमा मौरीलाई बेमौसम ‘असारदेखि भदौसम्म’ बचाइराख्न चिनी खुवाउने गरिन्छ । मह उत्पादनका लागि कात्तिकदेखि चैतसम्मको मौसम उपयुक्त भएको उनको भनाइ छ । सो अवधिमा मौरीलाई कृत्रिम खाना खुवाउनुपर्ने हुँदैन । फूलको रस पाउने समयमा पनि मौरीको चरन क्षेत्र अभाव हुँदै गएको छ ।

न्यौपानेले चरनका लागि ल्याइएका मौरीको हेरचाह गर्न कामदार राख्ने गरेका छन् । न्यौपानेले मौरीको अध्ययन तथा अनुसन्धान गरी प्राध्यापनसमेत गराउँदै आएका छन् । विशेषगरी तनहुँको भानु नगरपालिका-४ क्षेत्रमा मौरी राखिने गरिएको पाइन्छ । चरनका लागि मौरीलाई विभिन्न पहाडी क्षेत्रमा स्थानान्तरण गर्ने गरिएको छ ।

कृषि ज्ञान केन्द्र, तनहुँका प्रमुख कुलप्रसाद तिवारीले तापक्रम बढी भएको अवस्थामा कटुस, साल, चिलाउने, खेतमा हुने मकै, चैते धानको फूल फुल्ने हुँदा यहाँ चरन क्षेत्र बनाइएको बताए ।

‘विशेषगरी साल, चिलाउनेको फूलले मह उत्पादनलाई बढाउँछ, जसले गर्दा मह पोसिलो पनि हुन्छ,’ उनले भने । महको स्वादसमेत फरक हुने र चरन क्षेत्र कम भएको अवस्थामा यहाँ ल्याउँदा चिनी खुलाउनुपर्ने समयमा विभिन्न प्रजातिका फूलले मह उत्पादन बढाउने तिवारीले बताए ।

‘विषादी प्रयोग नभएको अवस्थामा जङ्गल बढ्दै गएको छ, विभिन्न प्रजातिका फूल पाइने हुन्छ, जसले गर्दा महमा विविधता र स्वादमा फरकपना दिन्छ, यसले गर्दा यहाँ ल्याउने गरिएको हो,’ उनले भने ।

फूलको रसले मात्रै मौरीले मह बनाउने भएकाले फूलको विविधताका लागि विशेषगरी यहाँ मौरी स्थानान्तरण गर्ने र तराई क्षेत्रकोभन्दा यहाँको तापक्रम त्यस समयमा उपयुक्त हुने उनले बताए ।

तनहुँमा व्यावसायिक रूपमा मौरीपालन गरिरहेका किसानले यस्ता उपयोगी विषयको अवलम्बन गर्नुपर्ने उनले बताए ।

चरन क्षेत्रको अभाव
मह उत्पादनका लागि पर्याप्तमात्रामा मौरीलाई फूलको रस आवश्यक पर्छ । मौरीले फूलको रसबाट मात्रै मह उत्पादन गर्ने भएकाले प्रशस्त फूलको रस पाउनुपर्ने हुन्छ । प्रशस्त चरन क्षेत्र भए तापनि विभिन्न कारणले अभाव हुने गरेको पाइन्छ ।

मौरीको महत्त्वपूर्ण चरन क्षेत्र चिउरी हो । चिउरी विशेषगरी पहाडी क्षेत्रमा हुने र सो स्थानमा मौरी स्थानान्तरण गर्न सहजै पहुँच नहुँदा समस्या हुने गरेको न्यौपानेले बताए ।

उनका अनुसार यातायातको सहज पहुँच नहुँदा यस्ता चरन क्षेत्रको सदुपयोग गर्न सकिएको छैन । मौरी व्यवसायलाई विकास गर्नका लागि महत्त्वपूर्ण चरन क्षेत्रमा यातायातको पहुँचको व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए ।

‘तोरी र लिची खेतीमा विषादी प्रयोग हुन थालेपछि मौरीको चरन क्षेत्र अभाव भएको हो, तोरीमा लाग्ने किरा, लिचीमा लाग्ने पतेरोको नियन्त्रणका लागि विषादीको प्रयोग बढ्दै गएकाले मौरीपालन जोखिममा पर्ने सम्भावना बढेको छ,’ उनले भने । यस्ता चरन क्षेत्रमा विषादी प्रयोगले कम उत्पादन हुने, गुणस्तर घट्ने र मौरी मर्ने हुन्छ ।

व्यावसायिक रूपमा खेतीपाती ह्रास आउँदा मौरीपालनमा समेत प्रभाव पर्ने गरेको छ । खेतीपातीमा भएको परिवर्तन, सहरीकरण, जङ्गल फँडानी, जङ्गलमा आगजनी हुने हुँदा मौरीको चरन क्षेत्र घट्दै गएको विज्ञको भनाइ छ ।

विज्ञका अनुसार मौरी व्यवसायको प्रवद्र्धन गर्न तीनै तहका सरकारबाट मौरी चरन क्षेत्र संरक्षण र विस्तार गर्नु आवश्यक रहेको छ । चिउरीको रूख बढाउन र चिउरीको रूख काट्न रोक लगाउनुपर्नेमा उनीहरूको जोड छ ।

मौरीपालनलाई सहयोग पुग्ने खेती, बाली, रूख, बिरूवाको वृक्षरोपण गरी यसको चरन क्षेत्र विस्तार गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर