खेतीकाे चटाराे र अविरल वर्षाले पनि छेकेन मकवानपुरगढी घुम्ने पर्यटकलाई
वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन्। तर, देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरबार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन।
झरीसँगै गढीको ऐतिहासिकता अवलोकन गर्नेको सङ्ख्या मध्यबर्खामा पनि दैनिक ५ सयदेखि हजारकै हाराहारी छ।
गर्मी छल्न मधेस प्रदेशबाट आउने आगन्तुकका कारण पनि गढीमा चहलपहल रहिरहेको गढीमा चटपटे पसल चलाइरहेकी मकवानपुरगढी-२ की सीता तिमल्सिना बताउँछिन्।
आर्थिक वर्षको अन्त्यसँगै केही फुर्सदिला बनेका विभिन्न आर्थिक गतिविधिमा संलग्न संङ्घसस्था, वित्तीय संस्था, सहकारी, विभिन्न स्थानीय तहलगायत सङ्घसंस्थाबाट सामूहिक भ्रमणमा आउने आगन्तुकको सङ्ख्या उल्लेख्य पाइएको बताइएको छ।
वि. सं. १००० तिरै तुला सेन नाम गरेका पहिलो सेनवंशी राजाले निर्माण गरेको मानिने मकवानपुर गढी ११ औं शताब्दीको भव्य संरचनामध्ये एक मानिन्छ।
तर, पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उदृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौं शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ।
सेनहरू मकवानपुरबाट पश्चिततर्फ लाग्दै पाल्पा कब्जा गर्दै शासन गर्न थालेपछि मकवानपुर पनि पाल्पाअन्तर्गत नै रहेकामा १६१० सालदेखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले अलग्गै मकवानपुर राज्य स्थापना गरे।
पृथ्वीनाराण शाहले कब्जा गर्नुअघिसम्म मकवानपुर स्वतन्त्र राज्य रहेको इतिहासकार बताउँछन्।
लोहाङ सेनले राज्य सञ्चालन गर्दा मकवानपुर हालको बिहारको विभिन्न क्षेत्र, पूर्वी पहाडका सबै क्षेत्र, विजयपुर, मोरङ तथा भारतको पूर्णिया तथा सिक्किमसम्मै मकवानपुर राज्य फैलिएको पुरातत्वविद् जनकलाल शर्माको एक लेखमा उल्लेख छ।
विशाल मकवानपुर राज्यको २ सय ९ वर्षसम्म राजधानी रहेको मकवानपुरगढी दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चललपहल निकै नै हुने गरेको छ।
विगतमा हिउँदयाममा प्रशस्त पर्यटक आउने गरे पनि वर्षायाममा भने शून्य जस्तै हुने गरेकामा यो वर्ष भने वर्षायाममा पनि आन्तरिक पर्यटक आइरहेको स्थानीयले बताएका छन्।
गढीमा मधेस प्रदेशबाट गर्मी छल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको मकवानपुरगढी-२ का स्थानीयबासी बाबुलाल तितुङ बताउँछन्।
उनका अनुसार ललितपुर, काठमाडौं, सिन्धुली, चितवनबाट यहाँ नियमितजसो पर्यटक आउने गरेका छन्।
पक्की र स्तरीय सडकमार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेको सङ्ख्या बढेको हुनसक्ने मकवानपुरगढीका भीमप्रसाद घिमिरे बताउँछन्।
हेटौंडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराज पथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ।
काठमाडौंबाट सिधा आउन चाहनेले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्छ। चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिङ्गग कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश हुन्छ।
विगतमा ठूलो गढीमा मात्रै पर्यटक पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुरासले ढपक्कै हुने ढुंगेगढीसमेत पर्यटकले भरिन थालेका छन्।
प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुंगेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताउँछन्।
मुसलमानी आक्रमणबाट बँच्न भारतबाट भागेर आएका सेन वंशीय राज खलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ट प्रमाण पुग्दैन। कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशको उद्गमस्थल मकवानपुर नै हो।
पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शीलालेखमा पाइएकोलाई आधार मान्दा सेनहरू पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ।
सेनहरूको वंशावलीअनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरूआत गरेका हुन्।
मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन्। खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रूद्र सेन र रूद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ।
प्रतिक्रिया