जथाभावी डोजर चलाउँदा मुगुका १५० बस्ती पहिरोको उच्च जोखिममा

पछिल्लो समय विकास निमार्णको क्रममा जथाभावी डोजर चलाउने प्रवृत्ति बढ्दो छ । भूगोलको अवस्था, वातावरण र माटोको परीक्षण नगरी सडक निर्माण गर्दा धेरै जोखिम बढ्दो छ ।

यसैको कारण मुगुमा एक सय ५० भन्दा बढी बस्तीहरू पहिरोको उच्च जोखिममा परेका छन् । चार स्थानीय तह भएको मुगुमा एक सय ५० बस्ती पहिरोको उच्च जोखिममा परेको हो । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौँ नागरिकहरू जोखिम मोलेर जीवन बिताउन बाध्य छन् ।

गत वर्ष असोज १९ देखि २४ गतेसम्म आएको पहिरोले घर, धनजन, अन्नसमेत बगाएर लगेपछि घरबारविहीन त्रिपाल मुनी बस्दै आएका छन् ।

खुल्ला चौरमा बस्दै आएका छायानाथ रारा नगरपालिका-८ झ्यारी गाउँका जैमती रावलले भनिन्, ‘आकासमा बादल लाग्दा राति निन्द्रा लाग्दैन, सरकारले सेवा दिएका छैनन्, गाउँमा बसौँ भने गाउँ नै पहिरोको जोखिममा छ ।’

बाढी पहिरोले छायानाथ रारा नगरपालिका दर्जनौँ बस्तीलगायत जिल्लाभरका धेरै बस्तीहरू पहिरोको उच्च जोखिममा छन् । जोखिम भएको बस्तीमा नागरिकहरू जीवन बिताउन बाध्य छन् ।

स्थानीय वडा, गाउँपालिका, नगरपालिकामा आएको बजेटले उच्च जोखिममा रहेका बस्तीमा विकास निर्माणको कार्य गर्न नसक्ने हुँदा संघीय र प्रदेश सरकारले समयमा जोखिमका बस्तीहरूको सुधारका लागि ध्यान पुर्याउनु पर्ने नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष राजु सुनारले बताए ।

मुगु जिल्लाको भूगोल अन्य जिल्लाभन्दा निकै फरक प्रकृतिको छ । बालुवा, गिट्टी, बलौटे माटो रहेको छ । धेरै भिरालो जमिन भएको हुँदा सामान्य आकासे पानी आउँदा बाढी पहिरो आउने सम्भवान हुन्छ ।

पहिरो रोकथामका लागि जिल्लामा रहेका सरोकारवाला निकायहरू समयमा लाग्न आवश्यक भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष मोहनबहादुर थापा बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *