पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज बनाइने छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन्।

नेपाल आयल निगम वीरगञ्ज शाखाले शनिबारदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गरिने उल्लेख गर्दै बिक्री वितरणलाई पनि सहज बनाइने बताए।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेकाले अब पेट्रोलियम पदार्थको आपूर्ति सहज र व्यवस्थित हुने उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि ट्याङ्करमा ‘टैंकट्रक लकिङ’ लगाउने कार्यसमेत सुरु भइसकेको जानकारी दिए।

पेट्रोलियम पदार्थको ढुवानी सहज भएसँगै बिक्री वितरणको बिलिङलाई सहज बनाउनका लागि आयल निगमको शाखाबाटै बिलिङ दिने कामको सुरुआत भइसकेकाले अब बिलिङका लागि अमलेखगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री रिजालले दाबी गरे ।

वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिलिङ सुरु भएसँगै पर्सा, बारा, रौतहट लगायतका जिल्लाका ढुवानी व्यवसायीलाई सहज हुने उल्लेख गर्दै उहाँले यसबाट चुहावट नियन्त्रणमा समेत मद्दत पुग्ने बताए।

सो अवसरमा मन्त्री रिजालले बिलिङ काउन्टरबाट काटिएको पहिलो बिलिङ ढुवानीकर्तालाई प्रदान गरी उक्त कार्यको उद्घाटन गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *