नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन् । नेपाल निजामती कर्मचारी युनियनको काठमाडौंमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन लागेको निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा बन्ने बताए ।
रक्षामन्त्री समेत रहेका खड्काले भने, ‘निजामती कर्मचारीको हक, अधिकार र हितको रक्षा नयाँ निजामती ऐनले गरेको छ । साथै नयाँ ऐनले आम नेपाली जनताले सबै सेवा झण्झटरहितरुपमा सम्मानपूर्वक पाउने कुराको सुनिश्चित गर्नेछ ।’
उनले सरकारले यतिबेला निजामती कर्मचारीलाई चाहेर पनि थप सेवा तथा सुविधा उपलब्ध गराउन नसक्ने स्पष्ट पारे ।
उपप्रधानमन्त्री खड्काले अहिलेको सरकार र सत्तारुढ गठवन्धन निजामती कर्मचारी हक अधिकारको रक्षाका लागि पूर्णरुपमा प्रतिवद्ध रहेको प्रष्ट पारे । उनले संविधानमा सुनिश्चित भएको सेवा जनताले पाउनुपर्ने र त्यसमा कर्मचारीले विशेष ध्यानदिनुपर्ने धारणा राखे ।
उनले नागरिकलाई सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा ध्यान दिन कर्मचारीलाई आग्रहसमेत गरे । सरकारले अहिले सरोकारावाला सबै निकायसँग छलफल गरेर ऐन निर्माण गरेका कारण निजामती ऐनले सबैको हित हुनेमा उनको विश्वास छ ।
प्रतिक्रिया