बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

पर्साको वीरगञ्जमा प्रहरीले बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

बुधबार राति बिलबिजकभन्दा बढी खुद्रा तथा हार्डवेयरका सामानहरू बोकेको ना ६ ख ७९७६ नम्बरको मालवाहक ट्रक वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

सो ट्रक वीरगञ्जबाट हेटौंडातर्फ गइरहेको सूचना प्राप्त भएपछि खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. ८, घण्टाघरस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो।

रोकेर जाँच गर्ने क्रममा सो ट्रकमा बिलबिजकभन्दा बढी मालवस्तुहरू लोड रहेको तथा बिलबिजक शंकास्पद देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रकमा लोड रहेका सामानको मूल्य ५५ लाख ११ हजार ३३८ रूपैयाँ बराबर रहेको अनुमान गरेको छ।

नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय, बारामा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *