हत्याकाण्डकाे २० वर्षपछि पनि फर्किएन दोरम्बाको रौनक

नरसंहारकारी दोरम्बा हत्याकाण्डको २० वर्ष बित्यो । तत्कालीन सरकार र माओवादी विद्रोहीबीच युद्धविराम भएका बेला सेनाले नियन्त्रणमा लिएका १९ जनासहित २१ जना माओवादीका नेता कार्यकर्ता हत्या गरेको २० वर्ष भयो ।

दाङको हापुरेमा सरकार र माओवादी पक्षबीच वार्ता चलिरहेको थियो । वार्ता सकारात्मक हिसाबले अघि बढेको त थिएन तर भंग पनि भइसकेको थिएन । वार्ता चलिरहेका बेला पनि दुवै पक्षबाट सानातिना युद्धविराम उल्लंघनका घटना भइरहेका थिए ।

तर, २०६० साल साउन ३२ गते ठूलो घटना भयो । दोरम्बा हत्याकाण्ड भयो । सोही हत्याकाण्डपछि युद्धविराम भंग भयो र पुनः युद्ध सुरू भयो ।

२०६० साउन ३१ गते राति रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको सेनाको ब्यारेकबाट मेजर राममणि पोखरेलको नेतृत्वमा सेनाको टोली अप्रेसनको लागि निस्कियो । सेनाको टोली रातभरि हिँडेर बिहान तत्कालीन दोरम्बा गाविसको दोरम्बा बजारमा पुग्यो । दोरम्बा बजार नजिकैको एउटा घरमा माओवादीको बैठक र वैवाहिक कार्यक्रम छ भन्ने सेनालाई पूर्वजानकारी थियो ।

युद्धविरामको बेला भएकाले सेना आउला भन्ने माओवादीले सोचेका थिएनन् । आए पनि आक्रमण गर्छ भन्ने डर उनीहरूलाई थिएन । राति बैठक गरेर बिहान वैवाहिक भोजको तयारीस्वरूप मासुभात पाक्दै थियो ।

चारैतिर कुहिरोले ढाकेकाले नजिकै पनि केही देखिँदैनथ्यो । साउन ३२ गते बिहान दोरम्बा बजार पुगेको सेना माओवादी बसेको घर सोध्दै दोरम्बाको खरिढुंगा पुग्यो ।

तस्बिर : नेपाल न्यूज बैंक।

सेनाको टोलीले घरको बाहिर सेन्ट्री बसेकालाई त्यहीँ गोली हानी ढाल्यो । बाहिर गोली चलेपछि तत्कालीन जिल्ला सेक्रेटरी हरिप्रसाद दाहाल ललित र अर्का नेता मैनकुमार मोक्तान मदन घरबाट भाग्न सफल भए । बाँकी १९ जनालाई सेनाले नियन्त्रणमा लियो । जसमा माओवादीका जिल्ला जनसरकार प्रमुख बाबुराम लामालगायत जिल्लास्तरका नेता थिए । एक जनाको शव पछि घटनास्थलभन्दा तल खोलामा भेटियो ।

दोरम्बा बजारबाट १५ मिनेट टाढाबाट उनीहरूलाई दोरम्बा बजारमा ल्याएपछि सेनाले बजारमा डोरी माग्यो । डोरीले सबै जनाका हात पछाडि बाँध्यो । त्यहाँबाट झण्डै ४५ मिनेट टाढा डाँडाकटेरीमा पुर्‍याएपछि १९ जनालाई नै लाइन लगाएर गोली ठोकी सेनाले हत्या गरिदियो ।

सो हत्याकाण्डपछि माओवादीले युद्धविराम भंग भएको औपचारिक घोषणा गर्‍याे र फेरि मार्ने मारिने शृंखला सुरू भयो । दोरम्बा हत्याकाण्डले अन्तर्राष्ट्रिय रूपमा नै दुर्नाम कमायो ।

दोरम्बा हत्याकाण्डपछि माओवादीले सुराकीको आरोपमा दोरम्बामा एक स्वास्थ्यकर्मीसहित दुई जनाको हत्या गरे । धेरै मानिसहरूलाई कारबाही गर्ने भन्दै नाम सार्वजनिक गरे । त्यसपछि दोरम्बाका मानिस रातारात घर छाडेर भागे । दोरम्बा सुनसान बन्यो । घर खाली भए । खाली घरको संरक्षण भएन । वर्षामा पानी चुहिन लागे धेरै घर भत्किए । बचेका पनि मान्छे बस्न लायक भएनन् ।

त्यतिबेला भागेका धेरै मानिसहरू काठमाडौंमा नै स्थापित भए । उनीहरू गाउँ फर्कन चाहेनन् । त्यसैले अहिले पनि दोरम्बा खण्डहर बस्तीजस्तै छ ।

तस्बिर : प्रदीपराज वन्त/रासस

दोरम्बा अहिले विगतको पीडालाई बिर्सने प्रयत्न गर्दै छ । डाँडाकटेरी जहाँ माओवादीका १९ जना नेता कार्यकर्ता मारिएको थियो त्यहाँ उनीहरूको स्मृतिमा सालिक राखिएको छ । त्यसको पनि खासै स्याहार र संरक्षण हुन सकेको छैन । वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार हुँदा सालिक बनाएर राखिएको हो ।

विगतको पीडालाई बिर्साउन सरकारले दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गर्‍याे । दोरम्बा गाउँपालिका-२ को दोरम्बालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गन्तव्यको गाउँ घोषणा र्गयो तर पूर्वाधारका खासै काम भएनन् । सुरू भएका काममा पनि उचित अनुगमन नहुँदा अनियमितता भयो । बजेट आयो, सकियो ।

दोरम्बामा पर्यटकीय पूर्वाधारका लागि होमस्टेलगायतका केही काम भएका छन् । दोरम्बामा शैलुङ, अग्लेश्वरी, कण्ठेश्वर गुफा, तालाच्यु गढी, डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृतिलगायतलाई जोडेर पर्यटन गन्तव्यको विकास गर्ने योजना त बन्यो तर कार्यान्वयन प्रभाकारी हुन सकेन ।

दोरम्बा अहिले पनि कहालीलाग्दो इतिहास सम्झँदै छ । विकास र समृद्धिको पर्खाइमै छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *