तपाईं दिनमा कति हिँड्नुहुन्छ? जान्नुहोस् स्वास्थ्यका लागि कति पाइला हिँड्नु फाइदाजनक
तपाईंलाईं ती दिनहरू याद छन् जब धेरैजसो मानिसहरूको हातमा स्मार्ट घडी लगाउने चलन बढेको थियो र मानिसहरू त्यो हेरेर सन्तुष्ट भई भन्ने गर्थे- ल यति पाइला त पूरा भयो। राम्रो स्वास्थ्यका लागि कति पाइला हिँड्नुपर्छ भन्नेबारे सधैं बहस हुने गरेको छ।
दिनमा १० हजार पाइला हिँड्नु स्वास्थ्यका लागि राम्रो हुने चर्चा पनि चलेको थियो। यसबारे अनुसन्धान पनि आयो।
तर, अब नयाँ बहस सुरू भएको छ, दिनमा ४ हजार पाइला मात्र हिँड्नु नै पर्याप्त हुन्छ र यसले स्वास्थ्यलाई पनि फाइदा गर्छ।
के यसले थोरै असमञ्जस पैदा गर्दैन कि एक व्यक्तिले स्वस्थ हुनका लागि दिनमा कति पाइला हिँड्नुपर्छ- १० हजार वा ५ हजार।
अनुसन्धानले के भन्छ?
युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित अनुसन्धानका अनुसार यदि तपाईं दिनमा कम्तीमा ३९६७ पाइला हिँड्नुभयो भने कम उमेरमै मृत्युको जोखिम कम गर्न सक्नुहुन्छ।
यस अनुसन्धानमा यो पनि भनिएको छ कि २ हजार ३ सय ३७ पाइला मात्र हिँड्दा मुटुरोगबाट मृत्यु हुने जोखिम ५० प्रतिशत घट्न सक्छ।
अनुसन्धानकर्ताहरूका अनुसार जति धेरै हिँड्न सकिन्छ, त्यति नै फाइदा हुन्छ। यो अनुसन्धान विश्वभर २ लाख २६ हजार मानिसमा गरिएको छ।
अनुसन्धानका अनुसार ४ हजार पाइलापछि तपाईं जति हजार पाइला थप हिँड्नुहुन्छ, त्यसले तपाईंको आयु १५ प्रतिशतसम्म बढाउन सक्छ।
पोल्याण्डको मेडिकल युनिभर्सिटी अफ लड्ज र अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी स्कुल अफ मेडिसिनको अनुसन्धान टोलीले हिँड्नु सबैका लागि फाइदाजनक भएको पत्ता लगाए, चाहे उनीहरू संसारको जुनसुकै कुनामा बस्ने र जुनसुकै उमेरका किन नहून्।
यस अनुसन्धानमा संलग्न लड्ज युनिभर्सिटीका प्रोफेसर माचे बनाखका अनुसार विश्वभर उपचारका लागि औषधिको उत्पादन बढ्दै गए पनि औषधि मात्रै उपचारको प्रभावकारी माध्यम होइन।
अनुसन्धानमा बहस
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वभर ३२ लाख मानिसहरू कुनै पनि शारीरिक गतिविधिबिना नै मर्छन्। यो विश्वभर हुने मृत्युको चौथो ठूलो कारण हो।
बेलायतको बेडफोर्डशायर अस्पताल एनएचएस ट्रस्टका मुटुरोग विशेषज्ञ डा. नरेन्द्र कुमार हिँड्नु सधैंदेखि हाम्रो दिनचर्याको हिस्सा भएको बताउँछन्। बूढापाकाहरूले पनि हिँड्ने घुम्ने गरे तन्दुरूस्त भइन्छ भन्थे।
उनी भन्छन्, ‘यस अनुसन्धानले यो कुरालाई फेरि प्रकाशमा ल्याएको छ। यदि तपाईं कुनै प्रकारको व्यायाम गर्न सक्नुहुन्न भने कम्तीमा यति त हिँड्नुहोस् नै। सामान्यतया यस्तो देखिएको छ कि जसको वजन बढी हुन्छ उनीहरू भन्छन्- अरे! हामी कसरी यति हिँड्ने? तर, यदि तपाईं थोरै पाइलाहरूबाट पनि सुरू गर्नुहुन्छ भने तब पनि राम्रो हुन्छ। किनकि सुरूवात त भयो।’
नरेन्द्र कुमार समस्या तब सुरू हुने बताउँछन् जब हामी लामो समयसम्म बसिरहन्छौं।
तर, प्रख्यात आहारविद् तथा वन हेल्थ कम्पनीकी संस्थापक शिखा शर्माको मत भने फरक छ।
उनी भन्छन्, ‘हामीले हाम्रो जीवनशैली परिवर्तनमा ध्यान दिनुपर्छ, जस्तो कि खानपान, व्यायाम। यो हाम्रो अध्ययनको महत्त्वपूर्ण कुरा हो। लामो आयु र मुटुरोगको जोखिम कम गर्नका लागि औषधि जत्तिकै वा त्योभन्दा पनि बढी प्रभावकारी हुन सक्छ।’
व्यायाम नगर्नुको बेफाइदा
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले वयस्क (१८-६४ वर्षका) लाई हरहप्ता कम्तीमा १५० मिनेट मध्यम तीव्रताको शारीरिक व्यायाम वा हरहप्ता ७५ मिनेट उच्च तीव्रताको व्यायाम गर्न साथै हप्तामा दुई दिनको मांसपेशी तालिम गर्न सल्लाह दिन्छ।
शिखा शर्मा भन्छिन्, ‘धेरैजसो मानिस राम्रो देखिनका लागि व्यायाम गर्छन्, राम्रो महसुस गर्न होइन। हामीले हाम्रो सोचमा अलिकति परिवर्तन गर्नुपर्छ।’
‘अनुसन्धानमा आसीन जीवनशैलीलाई क्यान्सर र हृदय रोगसँग जोडेर हेरिएको छ। यसलाई यसरी बुझ्नुहोस् कि जति बिरामी मुटु रोगबाट हुनेछ त्यति तपाईंको निष्क्रिय जीवनशैली हुन सक्छ। खासगरी महिलालाई धेरै पटक लाग्छ कि हामीले कस्तो मोडलिङ गर्नुपर्छ, हामी जस्तो छौं ठीक छौं। तर, तपाईंले समयमै केही गर्न गर्न सक्नुभएन भने लामो समयसम्म तपाईं ठीक हुनुहुने छैन। आसीन जीवनशैलीलाई धूमपानसँग तुलना गरिन्छ। अर्थात्, यदि तपाईं कुनै प्रकारको व्यायाम गर्नुहुन्न भने तपाईं धूमपान गर्ने जत्तिकै खतरामा हुनुहुन्छ।’
हिँड्नुका फाइदा
हिँड्नुका फाइदाहरू बताउँदै डा. नरेन्द्र भन्छन्, ‘मानिसको ताकत सानातिना कुराबाट बनेको हुन्छ। कुनै पनि शारीरिक गतिविधिबिना तपाईंको मेटाबोलिक दर घट्न थाल्छ, जसको असर बिस्तारै तपाईंका मांसपेशीहरूमा देखिन थाल्छ।’
‘हाम्रो स्वास्थ्यलाई असर गर्ने धेरै कारकहरू छन्। उदाहरणका लागि हाम्रो वरपरका रङहरूले हाम्रो स्वास्थ्यलाई असर गर्छ। घरबाहिर हिँड्न जाँदा हरियाली देखिन्छ, अक्सिजन बढी मात्रामा उपलब्ध हुन्छ, यी सबै कुराले तनाव कम गर्छ। तर, बाहिरको वातावरण प्रदूषित छ भने बाहिर हिँडडुल गर्नबाट बच्न सकिन्छ। तर, व्यायाम गर्न जरूरी छ।’
उनी भन्छन्, ‘हिँड्दा तपाईंको रक्तचाप कम हुन्छ, मांसपेशी बलियो बन्छ। हिँड्दा तपाईंको ऊर्जास्तर बढ्छ। नियमित व्यायामबाट तपाईंको शरीरले एन्डोर्फिन, डोपामाइन र सेरोटोनिन हर्मोनहरू उत्सर्जन गर्छ, जसले तपाईंको तनावको स्तर घटाउँछ।’
शरीरमा व्यायामका फाइदाहरूका बारेमा अनुसन्धानमा यो पत्ता लागेको छ कि हिँड्दा शरीरलाई मात्र नभई मानसिक स्वास्थ्यलाई पनि फाइदा हुन्छ। मधुमेहका रोगीका लागि पनि हिँड्नु निकै फाइदाजनक हुन्छ, यसले सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ।
शरीरमा खानपानको असर
डा. शिखा शर्मा भन्छिन्, ‘हाम्रो शरीरको उपचार हाम्रो खानपानबाटै हुन्छ। यदि हाम्रो खानपान खराब छ, जस्तै यदि तपाईं धेरै फास्ट फूड खानुहुन्छ वा चिल्लो खाना खानुहुन्छ भने यसको असर तपाईंको शरीरमा देखिन्छ। यदि खाना ठीक छैन भने हाम्रो शरीर पराजित हुन्छ।’
स्वस्थ रहन कस्तो खाना खाने भन्ने प्रश्नमा डा. शिखा शर्मा भन्छिन्, ‘महिलाहरू निकै भावनात्मक हुन्छन्। उनीहरूको खाना धेरै हदसम्म उनीहरूको मनमा निर्भर गर्दछ। कहिले मिठाइ धेरै खायो वा रोटी खायो वा अघिल्लो दिनको बाँकी खाना खायो। यस्तो अवस्थामा उनीहरूको शरीरलाई जुन भिटामिनको जरूरी हुन्छ त्यो प्राप्त हुँदैन।’
‘हेमोग्लोबिन, क्याल्सियमको कमी, भिटामिन डी, भिटामिन बी १२ को कमी महिलामा सामान्य हो। घुँडा दुख्ने, ढाड दुख्ने समस्या हुन्छ। यो सबै उनी एक महिला भएको कारणले हुँदैन, यो हुन्छ किनभने उनले आफ्नो ख्याल गर्दिनन् जसरी अरूको गर्छिन्।’
‘जति बढी सकिन्छ फलफूल र तरकारीहरू खानुहोस्। दिनमा काँचो तरकारीको २५०-३०० एमएल जुस बनाएर पिउनुहोस्। यसले तपाईंलाई आवश्यक भिटामिन र खनिज दिन्छ।’
‘हप्तामा एक दिन पानी र फलफूल मात्र खानुहोस्, यसले तपाईंको भित्र गएको खराब खाना हटाउँछ। रिफाइन्ड तेलको उपभोग पूर्णतया बन्द गर्नुहोस्, काँचो घनी तेल प्रयोग गर्नुहोस्। प्रशोधित खानाबाट टाढा रहनुहोस्। चामल र पीठोबाहेक अन्नमा अन्य चीजहरू प्रयोग गर्नुहोस्। प्रशस्त पानी पिउनुहोस्, हरेका दिनका लागि हिँड्ने र व्यायाम गर्ने नियम बनाउनुहोस्।’
के पैदल हिँड्नु सबैका लागि फाइदाजनक छ?
डा. नरेन्द्र भन्छन्, ‘धेरैजसो मानिसलाई हिँड्दा कुनै समस्या हुँदैन भन्ने कुरामा कुनै शंका छैन, तर हामीले यी कुरामा पनि ख्याल गर्नुपर्छ कि यदि तपाईंलाई कुनै स्वास्थ्य समस्या छ वा चिकित्सकले नहिँड्न सल्लाह दिनुभएको छ भने चिकित्सकको सल्लाह मान्नुपर्छ। आफ्नो क्षमता जान्नुहोस् र त्यसमा काम गर्नुहोस्। यस्तो नहोस् कि तपाईं पहिलो दिन हिँड्न जाँदै हुनुहुन्छ र पहिलो दिन नै ५ हजार पाइला हिँड्नुस्।’
-बीबीसी हिन्दीबाट अनुदित
प्रतिक्रिया