युनाइटेड सिमेन्टले तिरेन २७ करोड ५९ लाख रुपैयाँभन्दा धेरै विद्युत् महसुल

धादिङमामात्रै ४१ करोडभन्दा बढी बक्यौता

धादिङमा विद्युतको बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ ।

प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ ।

यसअघि पनि महसुलकै विषयमा धादिङको धुनीवेँसी नगरपालिका ९ जुगेडीमा रहेको युनाइटेड सिमेन्टको विद्युत बक्यौता १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रूपैंया तिर्न धादिङ जिल्ला अदालतले आदेशसहितको फैसला गरेको थियो।

न्यायधीश स्वीकृति पराजुलीको इजलासले युनाइटेड सिमेन्ट उद्योगले विद्युत खपत गरेबापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने रकम भुक्तानी गर्न आदेश दिएको हो ।

२०७३ भदौदेखि २०७५ चैतसम्म ट्रंक लाइन तथा डेडिकेटेड महसुल तिर्नुपर्ने नेपाल विद्युत प्राधिकरणले चुक्ता गर्न ताकेता गरिरहेकोमा सिमेन्ट उद्योगले छुटको दाबी गरिरहेको थियो । उच्च अदालत पाटनले उत्प्रेषण आदेशको रिट खारेज गरेपछि उद्योगले बक्यौता महशुल छुट दाबीको मागसहित २०७६ पुस ८ गते धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उच्च अदालत र जिल्ला अदालत गरी झण्डै चार वर्ष अदालतमा चलिरहेको मुद्दाको २० पुस २०७९ मा फैसला गर्दै धादिङ अदालतले बक्यौता महसुल तिर्नुपर्ने ठहर गरेको थियो ।

यस्तै महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन । एक सय तीन जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ ।

लाइन काटेपछि चार करोड २६ लाख ७४ हजार रुपैयाँ असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए । कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार रुपैयाँ असुल गर्न बाँकी छ । धादिङ शाखाले गत आर्थिक वर्ष २०७९÷८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौँ र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको प्रमुख न्यौपानेको भनाइ छ ।

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन ।

गत आवमा विद्युत् चोरी गर्ने दुई सय ९४ जनालाई कारबाही गरिएको थियो । उनीहरुबाट १४ लाख ८१ हजार रुपैयाँ जरिवाना असुल गरिएको उनले बताए । अघिल्लो आवमा एक सय २३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो । गत आवमा ११ करोड २२ लाख ९१ हजार रुपैयाँ छ सय नौ युनिट विद्युत् बिक्री गरीएक अर्ब दुई करोड रुपैयाँ रकम सङ्कलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *