वीरगञ्जमा बुहारीलाई बीबीएस दोस्रो वर्षको परीक्षामा चिट चोराउने ससुरा र परीक्षा केन्द्र प्रमुख पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार बीबीएस दोस्रो वर्षको अर्थशास्त्रको परिक्षामा बुहारीलाई उत्तरपुस्तिका नै बाहिर लेखेर बुझाउने ससुरालाई परिक्षा केन्द्र प्रमुखसहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मोहनप्रसाद यादवले आफ्ना जेठो छोराकी श्रीमती (छोरा बुहारी) विमाकुमारी यादवलाई उत्तरपुस्तिका नै बाहिर लेखेर दिएका थिए । उनलाई परिक्षा केन्द्र रहेको त्रिजुद्ध महाविर विद्यालयका कम्प्युटर शिक्षक तथा हाल सञ्चालन रहेको परीक्षाको परीक्षा प्रमुख विनोदकुमार स्वर्णकारले सघाएका थिए । ।

प्रहरी उपरीक्षक एसपी कोमल शाहका अनुसार बुधबार त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालय विर्तामा बीबीएस दोस्रो वर्षको परीक्षा चलिरहेको थियो । उनले अर्थशास्त्र विषयको प्रश्नपत्र र उत्तर पुस्तिका परीक्षा केन्द्रबाट वाहिर निकाली अन्य व्यक्ति मार्फत उत्तरपुस्तिका लेखेर बुझाएको सूचना आएपछि प्रहरी निरीक्षक विदुरप्रसाद सिवाकोटीको कमाण्डमा प्रहरी टोली खटाएको बताए। प्रहरी टोलीले गोप्यरूपमा निगरानी राख्दा यादवले एउटा फाइल बोकेर परीक्षा केन्द्र भित्र रहेको कम्प्युटर कक्षमा रहेको कार्यालय कोठामा गएर परिक्षा केन्द्र प्रमुख स्वर्णकारलाई दिएका थिए ।

प्रहरीका अनुसार स्वर्णकारको साथबाट बरामद फाइलमा त्रिभुवन विश्वबिद्यालयको सिम्बेल नम्बर ७००१५१८८७ बीबीएस दोस्रो वर्षको अर्थशास्त्र विषयको आठपानाको उत्तरपुस्तिका फेला परेको थियो । त्यो सिम्बोल नम्बर बुहारी विमाकुमारीको हो ।

प्रहरीले दुबै बिरुद्ध शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको अनुसन्धान म्याद लिएर हिरासतमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *