बीमा दाबी गर्न बिग्रिएको टिपरमा आफैंले आगो लगाएपछि…

बीमा रकम दाबी गर्न बिग्रिएर थन्किएको टिपरमा आफैंले आगो लगाएको आरोपमा तीन जना पक्राउ परेका छन्। टिपरधनीसहित तीन जना पक्राउ परेका हुन्।

प्रहरीले टिपरधनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्रीसहित सोही स्थान बस्ने ललितपुरको टीकाथली बस्ने भीमसेन खत्री र सिन्धुली घर भई टिकाथली नै बस्ने रंगबहादुर बुढाक्षेत्रीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रदीपकुमार खत्रीले मासिक किस्ता तिर्ने गरी १३ लाख रूपैयाँमा १३ महिनाअघि बा ३ ख २८९४ नम्बरको टिपर किनेका थिए। त्यो टिपर उनका कान्छा भाइ भीमसेनले चलाउँदै आएकोमा ४ महिनाअघि टिपर ठेचोस्थित नख्खुखोला करिडोरमा बिग्रिएर थन्किएको थियो।

टिपर बनाउन धेरै पैसा लाग्ने भएपछि प्रदीपकुमारको योजनामा साउन १२ गते राति भीमसेन र रंगबहादुरको संलग्नतामा पेट्रोल छर्केर उनीहरूले टिपरमा आगो लगाएका थिए।

त्यसको भोलिपल्ट दिउँसो उनीहरू टिपरमा आगो लगाउनेलाई खोजी गरी कारबाही र बीमा दाबी प्रयोजनका लागि सिफारिस माग गर्दै उजुरी लिएर प्रहरी वृत्त चापागाउँ पुगेका थिए।

त्यसपछि शंका लागेर छानबिन गर्दा टिपरमा उनीहरूले नै आगो लगाएको पाइएकाले आपराधिक उपद्रव कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीन जनाविरूद्ध ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *