युवती परिचालन गरी ‘हनी ट्र्याप’ मा पारेर ४० लाख असुली, दुई जना पक्राउ

‘हनी ट्र्याप’ मा पारेर लाखौं रकम असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई-१३ घर भई भक्तपुरको सानोठिमी बस्ने आयुष्मा भनिने आशिका रजल मगर र दोलखाको भीमेश्वर-५ घर भई काठमाडौंको तारकेश्वर बस्ने राजु खत्री छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूले सामाजिक सञ्जालमा युवतीहरू परिचालन गरी पुरूषहरूलाई हनी ट्र्यापमा पारेर ४० लाख रूपैयाँ बराबर रकम असुली गरेको आरोप छ।

प्रहरीका अनुसार उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध रूपमा हनी ट्र्यापको धन्दा चलाएका थिए।

त्यसका लागि उनीहरूले केटीहरूको समूह सामाजिक सञ्जालमार्फत परिचालन गरेका थिए।

यसरी परिचालित युवतीहरूले पुरूषहरूसँग फोन सम्पर्क हुँदै भेटघाट गर्ने र झुटा मुद्दा लगाएर फसाइदिने भन्दै बार्गेनिङ गरेर रकम असुलेकाे अनुसन्धानमा खुलेको छ।

उनीहरूले विभिन्न मितिमा ४० लाख रूपैयाँ बराबरको रकम उल्लेख भएका ८ थान चेक काट्न लगाएर रकम असुल गरेका थिए।

पक्राउ परेकाहरूलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको एसपी रेग्मीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *