विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट पुरूषको मृत्युपछि स्थानीयले गरे नाग्म-गमगढी सडक बन्द

राष्ट्रिय विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्गको नाग्म-गमगढी सडकअन्तर्गत सिंजा सडकखण्ड बन्द छ । उपचारका क्रममा स्थानीयको मृत्यु भएपछि सिंजा सडकखण्डको खाडापानीमा मंगलबारदेखि स्थानीयले सडक बन्द गरेका हुन् ।

साउन १४ गते कनकासुन्दरी-२, मालिकावोता देउतीमाडुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन तान्ने क्रममा सडकमा रहेको तार ट्रकमा बेरिएर झट्का दिँदा स्थानीय ४१ वर्षीय कर्णबहादुर रावत घाइते भएका थिए ।

पोलमा तार तान्ने क्रममा ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले सडकमा फिजिएको लाइन नहेरी जबरजस्ती मनपरी ढंगले गाडी हाँक्दा दुर्घटना भएको कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर २ का समाजसेवी रतनबहादुर रावतले बताए ।

ट्रकले विद्युतको पोल ढालेर कर्णबहादुर रावतलाई सख्त घाइते बनाएको थियो । उनलाई उपचारका लागि प्लेन चाटर्ड गरेर भारतको लखनउ पुर्‍याइएको थियो । उपचारका क्रममा रावतको मृत्यु भएको थियो ।

मृतक रावती छोरीसहित बालबच्चाको शिक्षा र स्वास्थ्यका लागि ट्रक धनी, ट्रक व्यावसायी समिति र राष्ट्रिय विद्युत प्राधिकरणअन्तर्गतको दावासिंह जेभीसँग पीडित पक्षसँग छलफल गर्दा कुनै पनि माग सुनुवाइ नभएपछि स्थानीयले सडक बन्द गरेका हुन् । पीडित पक्षले नाग्म-गमगढी सडकखण्डको बोताको खाडापानीमा सडक बन्द गरेको र माग पूरा नभएसम्म अनिश्चितकालका लागि यातायात बन्द गर्ने स्थानीय सविन रावतले जानकारी दिए ।

पीडित पक्षले मृतक कर्णबहादुर रावतका आफन्तलाई क्षतिपूर्ति दिन, मृतकका बालबच्चाको शिक्षा, स्वास्थ्य र गासबासको सुनिश्चितता गर्न र दोषीलाई तत्काल कानूनी कारबाही गर्न माग गर्दै सडक बन्द गरेका हुन् । अहिलेसम्म ट्रकधनी, ट्रक व्यवसायी समिति र राष्ट्रिय विद्युत प्राधिकरणअन्तर्गतको दावासिंह जेभी कम्पनीले कुनै पनि सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।

सडक बन्दका कारण मुगुको सदरमुकाम गमगढी आउने खाद्यान्न, मालवाहक गाडी र यात्रुवाहक गाडीहरू रोकिएपछि सयौं यात्रुहरू अलपत्र परेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *