भारत स्वतन्त्रताका ७७ औं वर्ष : आर्थिक विकासमा नयाँ छलाङ
‘भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्रबाट तेस्रो बन्दैछ । र यो सबै मेरा भारतीय परिवारको सामूहिक प्रयासले सम्भव भएको हो,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लालकिलामा गरेको सम्बोधनको यो एउटा अंश हो । उनले आफ्नो सम्बाधोनमा भारतका नागरिकलाई परिवार (परिवारजन) भनेर सम्बोधन गरे ।
उनले उत्तरपूर्वी राज्य मणिपुरको घटना शान्त भएको बताउँदै त्यो सामान्य घटना नभएको र यसले आफुलाई दुखी बनाएको बताए । उनले इतिहासमा साना घटनाले ठूलो महत्त्व राख्ने बताए । उनको जिकिर भारतले भोगेको लामो दासत्वतर्फ इंगित थियो । उनले भारतलाई स्वतन्त्र र विकशित भारतमा रूपान्तरण गर्ने श्रेय कुनै एक व्यक्ति नभई सबै भारतवासीको रहेको बताए ।
उनले आफ्नो सम्बोधनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, प्रशासनिक, प्राविधिक, कृषि तथा वातावरण, ऊर्जा तथा विश्व राजनीतिका विविध पक्षमा आफ्नो दुई कार्यकालमा भएको प्रगतl र प्रयासका विषयमा बताए ।
उनले भने, ‘अहिले हामीले जुन-जुन परियोजनाको शिलन्यास गरेका छौं, मलाई त्यसको उद्घाटन गर्ने जिम्मेवारी पनि यहाँहरूले मेरै भागमा छोड्नुभएकोमा म विश्वस्त छु ।’ उनको संकेत आफ्नो तेस्रो कार्यकालतर्फ थियो ।
भारतले आज स्वतन्त्रताको ७७ औं दिवस भव्यताका साथ मनाइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा लालकिलामा झण्डा फहराएपछि देशवासीलाई सम्बोधन गरेका छन् ।
कोरोना महामारीपछि भारतले दोस्रो पटक भव्यताका साथ अधिक मानिसहरूको उपस्थितिमा आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ ।
प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा भारतका आगामी योजना र लक्ष्यहरूको पनि घोषणा गरेका छन् । उनले स्वतन्त्रताको सय वर्षसम्मलाई अमृतकालको रूपमा व्याख्या गर्दै अब भारत विकास र समृद्धिकाे लक्ष्यमा नयाँ योजनाका साथ अघि बढ्ने बताएका छन् । ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’बाट यो लक्ष्य हासिल गरिने उनको भनाइ छ ।
मोदीले आफ्नो ९० मिनेटको भाषणमा केही ठूला घोषणासमेत गरे । उनले भारतलाई सन् २०४७ सम्म विकसित देश बनाउने घाेषणा गरे । उनले याे कुरा देशको स्राेत, क्षमता र ३० वर्षमुनिका जनताको बलमा भनेकाे बताए।
जनतासँग आशीर्वाद माग्दै माेदीले भने, ‘२०४७ मा देशले स्वतन्त्रताको सय वर्ष मनाउँदै गर्दा विश्वमा विकसित मुलुकको पहिचानसहितको हाम्रो देशको झन्डा फहराउनुपर्छ।’ यसका लागि उनले आगामी ५ वर्षलाई महत्त्वपूर्ण भन्दै सन् २०२४ मा लालकिलामा झन्डा फहराउने दाबी गरे ।
मोदीले देशवासीलाई ३ ग्यारेन्टी पनि दिए । पहिलो- ५ वर्षमा भारत विश्वको तेस्रो ठूलो आर्थिक शक्ति बन्नेछ। दोस्रो- सहरमा भाडाको घरमा बस्नेहरूले बैंक ऋणमा सहुलियत पाउनेछन्। तेस्रो- देशभर २५ हजार जनऔषधि केन्द्र खोलिनेछ । १७ सेप्टेम्बरमा विश्वकर्मा योजना सुरू गरनेछ।
नेपाल–भारत सम्बन्ध र सहकार्य
नेपाल–भारत सम्बन्ध पुरानोका साथै धर्म–संस्कृति र जनजीविका जोडिएको मानिन्छ । हालसम्म पनि दुई देशबीच खुला सीमा हुनु, आवतजावत सहजता र दुई देशका नागरिकबीच बिहेबारीलगायतका पारिवारिक सम्बन्ध हुनुले यो सम्बन्ध कति गहिरो छ भन्ने स्पष्ट छ । भारतले आफ्नो छिमेकी पहिलो नीतिमा पनि नेपाललाई विशेष स्थान दिएको छ ।
विद्युत व्यापारमा, भूकम्पपछिको पुनःनिर्माणमा सहयोग, विभिन्न विकास आयोजनाहरूमा निर्माण, शैक्षिक, सांस्कृतिक, रक्षा आदि क्षेत्रमा भारतले नेपाललाई महत्त्वपूर्ण योगदान गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गत जेठमा भएको नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप गति दिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले दुवै पक्षले घोषणा गरेका नयाँ पहलले दुई देशका सिमानाले ‘कनेक्टर’ का रूपमा काम गर्ने र नेपालसँगको सम्बन्ध भविष्यमा ‘सुपरहिट’ हुने घोषणा गरेका थिए ।
सो क्रममा नेपालगञ्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन, भैरहवामा अर्को एकीकृत जाँच चौकीको शिलान्यास र दोधारा चाँदनीमा नयाँ एकीकृत जाँच चौकीको स्थापनाका लागिसमझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यसका अलावा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको निर्माण सुरू भएको छ। सोही क्रममा नेपालको शिरसा र झुलाघाटमा महाकाली नदीमा भारतको चम्पावत र पिथौरागढ जिल्ला जोड्ने दुईवटा नयाँ पुल निर्माण गर्ने घोषणा पनि भएको छ । दुई देशबीचको रेलमार्ग कनेक्टिभिटीलाई अगाडि बढाउने क्रममा जयनगर–कुर्था रेलमार्गलाई बिजलपुरासम्म विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।
त्यस्तै भारतको बथनाहादेखि विराटनगर नजिकै रहेको नेपाल भन्सार यार्डसम्म भारत र नेपाल जोड्ने मालवाहक रेलसेवाको उद्घाटन भएको छ यी परियोजनाहरूको सञ्चालनका साथै भारतको आन्तरिक जलमार्गमा पहुँच प्रदान गर्ने संशोधित पारवहन सन्धिमा भएको हस्ताक्षरले दुई देशबीच मानिसको आवतजावत र सामानको आपूर्तिलाई थप सहज बनाउनुका साथै व्यापारिक, आर्थिक र जनता–जनता बीचको साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
विगत केही वर्षमा भारत र नेपालबीचको ऊर्जा कनेक्टिभिटीमा उल्लेखनीय प्रगति भएको छ । नेपालको भारतसँगको जलविद्युत् निर्यात दुई वर्षअघि निकै नै कम रहेकोमा गत वर्ष यो बढेर ४५२ मेगावाट पुगेको छ । हालै अन्तरदेशीय ऊर्जा व्यापारका लागि नेपालले थप बजारको पनि सुविधा पाएको छ । भारततर्फको दोस्रो ४०० केभी क्षमताको गोरखपुर–न्यू बुटवल प्रसारणलाइनको शिलान्यासले ऊर्जा व्यापारलाई थप टेवा पुर्याउने अपेक्षा गरिएकाे छ ।
नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको अर्को महत्त्वपूर्ण उपलब्धि भनेको दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा भएको सहमति हो । यस सहमतिअन्तर्गत भारतले नेपालबाट आगामी १० वर्षको अवधिमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्नेछ ।
भारतीय कम्पनीले निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत परियोजना र अन्य परियोजना जस्तै पश्चिम सेती र एसआर–६ को निर्माण कार्य अघि बढिरहेको छ । ४८० मेगावाटको फुकोट कर्णाली र ६६९ मेगावाटको तल्लो अरूण जलविद्युत परियोजनाको विकासका लागि भएको नयाँ सम्झौताले यो क्षमतालाई थप वृद्धि गर्नेछ । क्षेत्रीय ऊर्जा कनेक्टिभिटीलाई अभिवृद्धि गर्न भारतीय ग्रिडमार्फत नेपालबाट विद्युत आपूर्तिलाई बंगलादेशसम्मको पहिलो त्रिदेशीय सहजीकरण गर्न पनि भारत सहमत भएकाे छ ।
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन सन् २०१९ मा भएको थियो र यसको सञ्चालनले नेपालको ऊर्जा लागत बचत भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणलाई अघि बढाउने र चितवनसम्म विस्तार गर्ने विषयमा पनि सहमति भएको थियो ।
दुवै पक्षले सिलगुडी र झापाबीच अर्को पाइपलाइन र भण्डारण सुविधाहरू स्थापना गर्न पनि सहमति जनाएका छन् । एनपीसीआई इन्टरनेशनल लिमिटेड र एनसीएचएल नेपालबीच समझदारीपत्रमा भएको हस्ताक्षरले दुई देशबीचका डिजिटल भुक्तानी प्रणालीलाई जोड्नुका साथै भारत र नेपालबीच निर्बाध वित्तीय कनेक्टिभिटी सिर्जना गर्न मद्दत गर्नेछ ।
यस्तै भारतले ४८० वटा उच्च प्रभाव सामुदायिक परियोजनाहरू निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको छ भने ५८० वटाको निर्माण अघि बढाएको छ साथै ६८ वटा निर्माणाधीन अवस्थामा छन्।
यसका साथै दुई देशबीच देखिएको सीमा समस्या समाधानमा पनि भारत सकारात्क छ । प्रचण्डको भारत भ्रमणका क्रममा मोदीले यो समस्या पनि समाधान गरेर अघि बढ्ने बताएका थिए।
नेपालमा यसरी मनाइयो स्वतन्त्रता दिवस
काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरेर मनाइएकाे छ ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए ।
यस्तै भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपति मुर्मूले सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरूले गरेका बलिदानको स्मरण गर्दै देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे चर्चा गरेकी थिइन् ।
राष्ट्रपति मुर्मले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताइन् । साथै उनले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवर्द्धन गर्न भारतले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइन् ।
उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी-२० को अध्यक्षताबारे उल्लेख गरिन् ।
दूतावासले भारतीय सशस्त्र बलमा कार्यरत रहँदा वीरगति प्राप्त गरेका गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रूपैयाँ वितरण गरी सम्मान गर्याे ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले देशभक्ति गीत, नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया