गाल्न थालियो ‘ब्रेक शु’ बाट निकालिएको सुन, ताैल अझै घट्ने अनुमान
मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरू गरिएको छ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा आज बिहानदेखि सुन गाल्न सुरू गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
यसअघि हिजो ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन मात्रैको तौल ६० किलो सात सय ८९ ग्राम आएको छ। गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए। त्यसका लागि केही दिन लाग्नेछ। त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ब्रेक शु बरामद गरेको थियो। त्यसपछि उक्त सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको छ। उक्त घटनामा अहिले सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान गरिरहेको छ।
यो प्रकरणमा हाल २० जना सीआईबीको हिरासतमा छन्।
प्रतिक्रिया