स्वास्थ्यमन्त्री बस्नेत र राष्ट्रसंघकी आवासीय संयोजकबीच भेटवार्ता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (यूएन) की आवासीय संयोजक हाना सिङ्गर–हाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र यूएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ । स्वास्थ्यमन्त्री बस्नेतले अहिले सरकारले स्वास्थ्य क्षेत्रमा सहज पहुँच विस्तारको नीति लिएको जनाउँदै आर्थिक रूपमा कमजोर नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको बताए ।
‘भूकम्प, विभिन्न प्राकृतिक प्रकोप, कोभिड महामारीलगायत समयमा यूएनअन्तर्गतका निकायबाट भएको आर्थिक तथा प्राविधिक सहयोग प्रशंसनीय छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले गरिरहेका कामसँग समन्वय गर्दै तादम्यता हुने गरी थप सहयोगको अपेक्षा छ ।’
यूएनकी आवासीय संयोजक हाना सिङ्गर–हाम्डीले नेपालको कुन क्षेत्रमा कस्तो सहकार्य आवश्यक छ भनेर चाँडै छलफल गरी सोहीअनुसारका कार्यक्रम तय गर्ने बताइन् । ‘स्वास्थ्य मन्त्रालयको योजना र नीतिअनुसार कुन क्षेत्र र कस्ता विषयमा कार्यक्रम केन्द्रित गर्नुपर्ने हो भन्नेबारे चाँडै नै छलफल गरेर टुङ्ग्याउन सकिन्छ,’ उनले भनिन्, ‘सङ्घीय सरकारसँगै प्रदेशसँग पनि हामीले कसरी सहकार्य गर्न सक्छौँ भन्नेबारे स्पष्टता आवश्यक छ ।’
नेपालले स्वास्थ्य क्षेत्रमा चाहिने सुधारका क्षेत्र पहिचान गर्नुपर्ने भन्दै संयोजक हाम्डीले सोहीअनुसार दातृ निकायले योजना तर्जुमा गर्ने बताइन् । यूएनअन्तर्गतका निकायसँग नेपाल सरकारले कुनै पनि कामका लागि सहकार्य गर्न चाहेमा जानकारी गराउनुपर्ने जनाउँदै उनले त्यसमा सहजीकरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।
जवाफमा स्वास्थ्यमन्त्री बस्नेतले यो हप्ता आफू भारत भ्रमणमा रहने जानकारी दिँदै उक्त भ्रमणबाट फर्किएपछि सरोकारवाला निकायसँग छलफल गरी यूएनअन्तर्गतका निकायसँग कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गरिने बताए ।
प्रतिक्रिया