पहिरोले अवरूद्ध बेँसीसहर-चामे सडक खुल्यो

बाढी-पहिरोका कारण आइतबार बिहानदेखि अवरूद्ध बेँसीसहर-चामे सडक सञ्चालन भएको छ।

बेँसीसहर नगरपालिका-६, खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारी साधन सञ्चालनमा आएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालय, लमजुङले जनाएको छ।

केही दिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा पर्ने रामबजार, घोप्टे, च्याम्चे, रैदुखोला लगायतका स्थानमा अवरूद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो।

खरखरेमा पानीसहित ठूलाठूला ढुङ्गासहितको पहिरो आएको र डोजरले खोतल्दा झन पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन। तर, आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इञ्जिनियर पुरूषोत्तम अधिकारीले जानकारी दिए।

उनले पहिरोको जोखिम भने अझै रहेको बताए। यस सडकमा दैनिक ३० देखि ४० वटा सवारी साधन आवतजावत हुने गरेका छन्। लमजुङ र मनाङ जोड्ने एक मात्र सडक अवरूद्ध हुँदा बढी मर्का मनाङवासीलाई पर्दै आएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *