कागबेनीमा बाढीको वितण्डा, दर्जनौ घर र गाडी बगायो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । आइतबार साँझ आएको बाढीले यहाँका घर, सडक एवं सार्वजनिक भवनमा क्षति पुर्‍याएको हो ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलामा आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति गरेको हो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब एक सय घरधुरी रहेको कोगबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको जानकारी दिए । उनका अनुसार कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् ।

राति ८ बजे कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको छ, उनले भने, तीन वटा घर, तीन वटा पुल र सडक बगाएको छ । खोला आसपासका धेरै घरमा बाढी पसेको छ । स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छौँ । राति भएकाले सबै क्षतिको विवरण सङ्कलन गर्न सकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ ।

मानवीय क्षति नभए पनि भौतिक संरचनामा धेरै क्षति भएको अध्यक्ष गुरुङले बताए । कागबेनीभन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्धारमा परिचालन भएका छन् ।

खम्बा बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ ।

कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । सिँचाइको नहर, गुम्बामा पनि बाढीले क्षति गरेको छ । मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीच भागमा छ ।

कागबेनीको जनशान्ति माविका शिक्षक मनवीर किसानले कागबेनीको पूजास्थल, पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी उनले बताए । करिब १५ मिटर कटान गरेर कागखोला विद्यालय नजिक पुगेको उहाँले बताउनुभयो । बाढी आएपछि छात्राबासका शिक्षक विद्यार्थी सुरक्षित ठाउँमा गएर बसेको शिक्षक किसानले बताए ।

दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *