आरोहण खेल संघकाे अध्यक्षमा धरेल

नेपाल आरोहण खेल सङ्घको छैटौंअधिवेशनले अध्यक्ष हरि धरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ। एसोसिएसनको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुनारबहादुर गुरुङ, मनोनीत उपाध्यक्ष ल्हाक्पा शेर्पा, महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल, सचिव सञ्जीव गुरुङ, कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्ष प्रणीलमान श्रेष्ठलाई निर्वाचित गरेको हो।

त्यस्तै सदस्यहरूमा अशोक लामा, सदस्य रामकाजी तिवारी, सदस्य डोलेन्द्रराज दाहाल, सदस्य मनराज शिंखडा, सदस्य राजेश धरेल, सदस्य मञ्जु गिरी, सदस्य शिवबहादुर सापकोटा निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोविन्द भट्टराई र उपसल्लाहकार पि.एन अधिकारी मनोनीत गरेको छ। नवनिर्वाचित कार्यसमितिका सदस्यहहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव जीवनराम श्रेष्ठले खादा तथा अबिर लगाएर शुभकामना दिएका थिए।

अधिवेशन उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले खेलाडी राष्ट्रका गौरव र गहना भएकाले उनीहरूलाई पालिकाबाट प्रोत्साहन गरिने बताए।

उनले टोखा नगर क्षेत्रमा आरोहण पर्यटनको प्रवद्र्धनका लागि आवश्यक जग्गा उपलब्ध गराई अन्तर्राष्ट्रिय स्तरमा खेल पर्यटनको गन्तव्यस्थल बनाउन पहल गर्न लागिएको बताए।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावना रहेकाले यसको विकास र विस्तारमा राज्यले जोड दिनुपर्ने बताए।

माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालका गोविन्द भट्टराईले खेल पर्यटनले प्रकृति र संस्कृतिलाई पनि जोड्ने हुँदा दिगो पर्यटन विकासका लागि राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए।

राखेपका बोर्ड सदस्य प्रकाशकुमार कुसारीले विद्यालय र विश्वविद्यालयस्तरबाटै खेलाडी उत्पादनमा जोड दिन लागिएको र बैंक तथा वित्तीय संस्था एवं सङ्गठिन संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गरिएको बताए।

संघका अध्यक्ष धरेलले आरोहण खेल लगायत विभिन्न साहसिक खेलको माध्यमबाट नेपालले ठूलो संख्यामा विदेशी पर्यटन भित्र्याउन सक्ने सम्भावना रहेकाले खेल पर्यटनलाई राज्यले ध्यान दिनुपर्ने बताउँदै आगामी दिनमा संघले यसतर्फ रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाए।

सन् २०१२ मा स्थापित नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनअन्तर्गत सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशमा समिति विस्तार भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *