विभिन्न प्रलाेभनमा भारत पुर्‍याइएका सात बालबालिकाको उद्धार

नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ।

विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआईएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो।

दार्चुलाकी १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका, रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो।

ती बालबालिका विभिन्न बाहना तथा प्रलोभनमा भारत पुर्‍याइएको थियो।

१ देखि ६ महिनाको अवधिमा हराएका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरिएको हो।

केआईएनका निर्देशक नवीन जोशीका अनुसार ती बालबालिकामध्ये तीन जना बालकको परिवारसँग पुनर्मिलन गराइएको छ।

एक जना बालकलाई बालबालिका खोजतलास केन्द्रमा राखिएको छ। तीन बालिकालाई रूपन्देहीको एक आवास गृहमा राखिएको छ।

‘प्रहरी तथा भारतस्थित नेपाली दूतावासले केआई एन इन्डियालाई केस फरवार्ड गर्नुहुन्छ। त्यही आधारमा काम गर्छौं,’ निर्देशक जोशीले भने, ‘भेटिनेभन्दा नभेटिने बालबालिकाको संख्या धेरै छ।’

सन् २०१८ देखि अहिलेसम्म केआइएनले पाँच सय बढी महिला तथा बालबालिका उद्धार गरेको जनाएको छ।

‘भारत धेरै जनसंख्या भएकाले कुन क्षेत्रमा छ भनेर पत्ता लगाउन निकै समस्या हुन्छ। भारतीय प्रहरीको सहयोगमा उद्धारको काम गरिरहेका छौं,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *