वर्षासँगै बढ्यो हरियो तरकारीको मूल्य

पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि फलफूल तथा तरकारीको सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।

सार्वजनिक मूल्यअनुसार च्याउ, गाजर, सागलगायतका हरियो तरकारीको मूल्य १० देखि ४० रुपैयाँसम्म प्रतिकेजी बढेको छ । आज रायो साग, हरियो प्याज, गाजर, रातो मुला, घिराैंलाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर आएको छ । तर, घिउ सिमीमा १० रुपैयाँ र लाम्चोभन्टामा प्रतिकेजी ५ रुपैयाँले मूल्य घटेको हो ।

बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै कन्ये च्याउमा प्रतिकेजी ४० रुपैयाँले भाउ बढेको छ । शनिबार १६० रुपैयाँ मूल्य रहेको सोहि च्याउ आज ४० रुपैयाँले बढर २०० पुगेको छ । गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ५०, मुला रातो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमास कोसा ९० रुपैयाँ तोकिएको छ । तिते करेला ४०, लौका ४०, परवल ४४, घिरौला ३०, फर्सी पाकेको ५०, कन्ये च्याउ २००, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ । रायोको साग ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ३० रुपैयाँ हुँदा हरियो प्याज १०० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ ।

समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । आज केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फुजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २२०, तरबुजा हरियो ७०, मौसम १६०, किवी ७००, मेवा ८० रुपैयाँ र नासपाती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *