ल्याण्डपुलिङका नाममा जग्गा नरोक्नू : मन्त्री गुरूङ

सहरी विकासमन्त्री सीता गुरूङले काठमाडौं उपत्यकाभित्र ल्याण्डपुलिङका नाममा नागरिकहरूको जग्गा धेरै समयदेखि रोकेर राख्नु जायज नभएको बताएकी छन्। सहरी विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा बोल्दै मन्त्री गुरूङले ६/७ वर्षदेखि ल्याण्डपुलिङका नाममा नागरिकहरूको जग्गा रोकेर राख्न नहुने बताएकी हुन्।

विगतका कमीकमजोरीलाई बेलैमा सुधार गरेर अघि बढ्न कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री गुरूङले कोखदेखि शोकसम्मको संरचना निर्माण गर्ने कार्य भइरहेको बताइन्। ‘मन्त्रालयबाट गर्नुपर्ने काम गर्न म प्रतिबद्ध छु,’ मन्त्री गुरूङले भनिन्,‘समस्याबाट चिन्तित भएर अगाडि बढन सकिँदैन। कर्मचारीहरूले पनि समस्या मात्र देखाउने होइन, समाधान गर्ने कार्यमा लाग्नुपर्छ।’

तल्लो निकायबाट निर्माण कार्यका लागि माथिल्लो निकायमा पठाइने फाइलहरू महिनौंसम्म अड्किने परिपाटीको तत्काल अन्त्य आग्रह गर्दै उनले सहरी विकास मन्त्रालयको क्षेत्राधिकार प्रस्ट पार्न कम्तीमा पनि १० वटा इन्डिकेटरको निर्माण गर्ने कार्यमा लाग्ने बताइन्।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणको नदी पूर्वाधार निर्माणको विषयमा क्षेत्राधिकार स्पष्ट गरी कार्य विभाजन गरिने पनि मन्त्री गुरूङले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *