नागढुंगा-सिस्नेखोला सुरूङमार्गकाे रेस्क्यु टनेल ‘ब्रेक थ्रु’ (तस्बिरहरू)
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरूङ (रेस्क्यु टनेल) छिचोलिएको छ। निर्माण थालिएको तीन वर्ष सात महिनामा आपतलीन सुरूङको आज ‘ब्रेक थ्रु’ गरिएको हो।
नागढुङ्गा-सिस्नेखोला सुरूङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रु गरिएको हो।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रतिनिधिसभाका सदस्यहरू पनि सुरूङभित्रै सहभागी थिए।
मुख्य सुरूङ छिचोल्न बाँकी नै भए पनि आकस्मिक सुरूङबाट भने अबदेखि धादिङ-काठमाडौं वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए।
साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको सुरूङमा सातवटा क्रस प्यासेज राखिएको छ। सुरूङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरूङ अवरूद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरूङसँगै निर्माण गरिएको आकस्मिक सुरूङ छिर्न मुख्य सुरूङमा सातवटा गेट राखिएको छ।
आयोजनाको मुख्य सुरूङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ। सोमबारसम्म दुई हजार एक सय ८६ मिटर खन्ने काम सकिएको छ। मुख्य सुरूङ खन्न अब पाँच सय दुई मिटर बाँकी छ। आगामी मङ्सिरसम्ममा मुख्य सुरूङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको कन्सल्टेन्सी इन्जिनियर कोइरालाले जानकारी दिए।
सुरूको ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्नेमा समयमा काम नभएपछि यो आयोजनाको म्याद २५ अप्रिल २०२४ सम्म थपिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरूङमार्गको औपचारिक शिलान्यास गरे पनि सुरूङ खन्ने काम झन्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरू भएको थियो।
प्रतिक्रिया