सिद्धार्थ बैंकले गत वर्ष कमायाे ३ अर्ब १९ कराेड नाफा

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्बभन्दा बढी नाफा कमाएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रूपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ। त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रूपैयाँ रहेको छ। यसअनुसार बैंकको प्रतिशेयर वितरणयोग्य आम्दानी ५ रूपैयाँ ६५ पैसा रहेको छ।

नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर २२ रूपैयाँ ६४ पैसामा सीमित भएको छ। चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रूपैयाँ ७३ पैसा रहेको छ।

१४ अर्ब ८ करोड ९९ लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रूपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर