उत्तराखण्डमा पहिराेमा परी बेपत्ताहरूकाे खाेजी गर्न कुकुर परिचालन

चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा पहिराेमा परी बेपत्ता भएकाहरूको खोजीकार्य तीव्र पारिएको छ। सो स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो।

सो क्रममा कालीकोटका तीन पुरूषको शव भारतीय प्रहरीले फेला पारेको थियो। कालीकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो।

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए। ‘एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको एकिन भएको छ, दुई जनाबारे आशंका मात्रै गरिएको छ,’ उनले भने, ‘खोजीकार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुुकुरसमेत परिचालन गरेको छ।’

दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तीव्र रूपमा भइरहेको जानकारी दिए। लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनकाे भनाइ छ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई आग्रह गरेकाे वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए।

सो क्षेत्रमा लामो समयदेखि सयौं नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन्। बेपत्ता भएकाहरू सबै जुम्ला घर भएकाहरू रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *