‘मेकअप’ का सामग्री आयातमा बिदेसिन्छ कराेडाैं रकम

आँखा र ओठ शृंगारका सामग्री खरिदमा मात्रै बाहिरियाे ५५ करोड

दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ। सिन्दूर, टूथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि बिदेसिएको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ।

विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’ को आयातमा मात्रै पाँच करोड २७ लाख १८ हजार रूपैयाँ बाहिरिएको छ। त्यस्तै फेसक्रिम आयतमा ७८ करोड पाँच लाख ८१ हजार रूपैयाँ बिदेसिएको छ। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ४६ करोड नौ लाख ८९ हजार रूपैयाँ मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ। यसबाट सरकारले २३ करोड चार लाख ८३ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ।

एक करोडको सिन्दूर आयात
विशेष गरी हिन्दू महिलाले प्रयोग गर्ने सिन्दूरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ। पछिल्लो एक वर्षमा मुलुकमा एक करोड पाँच लाख ६५ हजार रूपैयाँको सिन्दूर आयात भएको छ। गत आवमा सिन्दुर भारत र इन्डोनेसियाबाट आयात भएको छ।

तीन अर्ब बढीको कपाल स्याहारका सामग्री आयात
विभागका अनुसार गत आवमा तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन्। कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो।

गत आवमा ६३ करोड २१ लाख ३३ हजार रूपैयाँ मूल्यको स्याम्पु आयात भएको छ भने ६९ करोड ७७ लाख ७९ हजार रूपैयाँ मूल्यका कपालमा लगाउने तेल आयात भएको छ। साथै सात करोड ३२ लाख ३८ हजार रूपैयाँ बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ।

त्यस्तै कण्डिस्नर आयातमा १० करोड ४५ लाख ४७ हजार रूपैयाँ खर्च भएको छ। कपाल रङ्गाउने वस्तु आयातमा ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ। त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा ९७ करोड ६१ लाख २० हजार रूपैयाँभन्दा बढी रकम बिदेसिएको छ।

आँखा र ओठ शृङ्गारमा ५५ करोड
विभागका अनुसार गत आवमा ओठ र आँखा शृङ्गारका सामान आयातमा करोडौँ बाहिरिएको छ। गत आवमा मेकअपका सामान आयातमा ३६ करोड ४४ लाख ६० हजार रूपैयाँ बाहिरिएको छ। जसमा आँखा मेकअपका लागि मात्रै १९ करोड ४० लाख ८० रूपैयाँ खर्च भएको छ। त्यस्तै अन्य शृङ्गारका सामग्री आयातमा तीन अर्ब १३ करोड रूपैयाँभन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ ।

१६ करोडको टूथपेस्ट
त्यस्तै विभागका अनुसार गत आवमा मुलुकमा ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट (मञ्जन) आयात भएको छ। यस्तै ५४ करोड ८४ लाख ८३ हजार रूपैयाँ मूल्य बराबरको मञ्जन निर्यात भएको छ।

पेन्सिल, मार्कर आयातमा एक अर्ब बाहिरियो
विवरणअनुसार गत आर्थिक वर्षमा एक अर्बभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन्। गत आवमा ५७ करोड ७६ लाख ९८ हजार रूपैयाँको बलपेन आयात भएको छ। त्यस्तै १४ करोड ३८ लाख रूपैयाँभन्दा बढीको पेन तथा मार्कर आयात भएको छ। विभागका अनुसार गत आवमा ५४ करोड ५१ लाख रूपैयाँभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन्। गत आवमा एक करोड ७२ लाख रूपैयाँको पेनका निव, तीन करोड ७२ लाख रूपैयाँका पेनको रिफिल तथा मसी आयात भएको तथ्याङ्क छ।

पकेट लाइटर आयातमा ५२ करोड खर्च
गत आवमा ५२ करोड रूपैयाँभन्दा बढीको पकेट लाइटर आयात भएको छ। त्यसमा ४६ करोड ७२ लाख १५ हजार रूपैयाँको पुनः ग्यास भर्न नमिल्ने, एक करोड २३ लाख ९८ हजार रूपैयाँको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर ५१ लाख ५५ हजार रूपैयाँको आयात भएको देखिन्छ।

६८ लाखको सेल्फी स्टिक आयात
विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लठ्ठी (सेल्फी स्टिक) को आयातमा ६८ लाख ४४ हजार रूपैयाँ खर्च भएको छ भने दुई करोड ५५ लाख २६ हजार रूपैयाँ बराबरको ट्राइपड आयात भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर