भारतकी देविका पाल्शिकर बनिन् नेपाली महिला क्रिकेट टाेलीकाे ब्याटिङ प्रशिक्षक
२१ साउन २०८० १३:५८
आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देविका पाल्शिकरलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।
भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्यान्ट प्रशिक्षकको रूपमा आज नियुक्त गरिएको क्यानले जनाएको छ। देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन्।
देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन्। उनी २०१८ मा बङ्गलादेशको सहायक प्रशिक्षक बनेकी थिइन्।
मलेसियामा यही अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म आयोजना हुने आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा आयोजक मलेसियासँगै बहराइन, भुटान संयुक्त अरब इमिरेट्स (यूएई) र कतार रहेका छन्।
त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यान्मार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन्।
छनोट हुने नेपाली टोलीकी कप्तान रूविना क्षेत्रीसहित सीता रानामगर, इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का रहेका छन्।
त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैसी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डङ्गोल, मनिषा चौधरी, ज्योति पाण्डे र रूबि पोडार रहेका छन्।
प्रतिक्रिया