नर्वेकी कीर्तिमानी आरोही हरिलाको सन्न्यास, नेपाल आइरहने बाचा

कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिलाले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै आज ‘सन्न्यास’को घोषणा गरिन्। पाकिस्तानमा रहेको ‘माउण्ट केटु’ को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिनु उनका लागि सायद उपयुक्त समय पनि थियो।

गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको आरोहणसँगै हरिला र शेर्पा गाइड तेन्जिन शेर्पाले कम समयमा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको कीर्तिमान कायम गरेकी थिइन्। यसअघि यो कीर्तिमान निर्मल पूर्जाका नाममा थियो। पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा उक्त कीर्तिमान कायम गरेका थिए।

सन्न्यास घोषणाका क्रममा हरिलाको बोलीमा नेपाल र नेपालीप्रतिको सम्मान र माया प्रष्ट झल्कन्थ्यो। शनिबार विहान पाकिस्तानबाट कतार एयरलाइन्सको विमानमार्फत काठमाडौँ ओलएकी हरिला र शेर्पालगायत आरोहीलाई प्रंशसकहरुले भव्य स्वागत गरेका थिए। उनीहरुलाई बाजासहित विमानस्थलबाट चावहिल र लैनचौर हुँदै भृकुटिमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो।

‘केही समयका लागि म आठ हजार मिटर अग्लो हिमाल चढ्न पनि सक्छु भन्ने पनि लाग्दैछ तर मैले मेरो काम पूरा गरिसकेकी छु,’ नेपाल पर्वतारोहण सङ्घले गरेको सम्मान कार्यक्रममा उनले भनिन्, ‘सन्न्यासपछिको जीवन परिवारसँग बिताउने र नेपाल आइरहने बाचा गर्छु।’

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने उनको अभियान गत अप्रिलमा चीनको सिसापाङ्गमा हिमाल आरोहणसँगै सुरु भएको थियो। उक्त लक्ष्य ९२ औँ दिनमा माउण्ट केटुको आरोहणसँगै पूरा भएको छ।

बयानब्बे दिनमै १४ वटा हिमाल चढ्न कति सहज भयो त रु सञ्चारकर्मीको जिज्ञाशामा हरिलाले भनिन्, ‘हिमाल आरोहण सहज वा गाह्रो कस्तो हुन्छ भन्ने त्यहाँको मौसम र परिस्थितिले निर्धारण गर्छ, गत वर्ष हिमाल आरोहण सहज थियो भने यसवर्ष भने बाक्लो हिउँ परेकाले केही अप्ठ्यारो पनि भयो।’

हरिला र शेर्पाले प्राप्त गरेको सफलता पहिलो प्रयासमै प्राप्त भएको भने होइन। सन् २०२२ को अप्रिलमा पहिलो पटक कीर्तिमानका लागि प्रयास गरेपनि कोरोना भाइरसको महामारीलगायतले सफल हुन सकेको थिएन। पहिलो प्रयासमा १४ मध्ये १२ हिमाल मात्रै आरोहण गरेकी थिइन्। हरिलाको हिमाल आरोहणको यात्रा सन् २०१५ देखि सुरु भएको थियो।

हरिला र शेर्पाको यो कीर्तिमानी आरोहणका पछाडि मुख्य भूमिका भने ‘सेभेन समिट ट्रेक्स’ले गरेको थियो। पर्वतारोहणमा अग्रणी यस कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले विश्वमा नेपालको पर्वतीय पर्यटनको प्रवर्द्धनमा शेर्पा समुदायको विशेष योगदान रहेको चर्चा गर्दै सरकारले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिइन्।

सम्मान ग्रहण गर्दै उनले आफ्नो सफलतामा साथ र हौसला दिने नेपाली सहहृदयी नागरिकप्रति विशेष धन्यवाद समेत दिइन्। उनले नेपाल र हिमालप्रतिको माया निकै रहेको भन्दै आगामी दिनमा विभिन्न सामाजिक काममा क्रियाशील हुने जिकिर गरिन्।

‘मलाई नेपाल र यहाँका जनताहरु असाध्यै मनपर्छ, हिमाल आरोहणको सपना पूरा गर्न साथ दिनुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘म फेरि पनि नेपाल आइरहन्छु नेपालका लागि केही गर्न चाहन्छु।’

क्रिस्टिनसँगै कीर्तिमानी नेपाली आरोही तेन्जिन ९लामा० शेर्पाले नेपालको गौरव बढाउनसकेकोमा आफू कृतज्ञ भएको बताए। क्रिष्टिन र तेन्जिनले सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण तीन महिनामा पूरा गरेका हुन्।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, सिसपाङ्गमा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गरेका हुन्।

आजको सम्मान कार्यक्रममा १७ वर्षको उमेरमा सगरमाथा र केटु हिमाल आरोहण गरी कान्छो आरोहीको कीर्तिमान बनाउने निमा रिन्जी शेर्पालाई पसिन पदक र कदरपत्र प्रदान गरिएको थियो। साथै सो अवसरमा केटु हिमाल आरोहण गर्ने एकै परिवारका चार आरोहीलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा पर्यटन विभागका निर्देशक राकेश गुरुङले मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सबै सरोकारवाला साझेदारिताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनले पर्वतीय पर्यटनलगायत पर्यटनका विधामा दिगो पर्यटन प्रवर्द्धनका लागि विभागले सहकार्य गर्ने बताए।

नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले नेपालको सान र गौरव बढाउन आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर