रोहित चौधरी हत्या प्रकरण : थप दुई जना पक्राउ

सुनसरीकाे इटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङकाे विराटनगर महानगरपालिका-५, कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित र इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २९ वर्षीय सुजन तामाङलाई विराटनगर महानगरपालिका-११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ

रोहितको लुटपाटको उद्देश्यले गोली हानेर हत्या भएको खुलेको छ।

उनको हत्या आरोपमा यसअघि मंगलबार मोरङको लेटाङ नगरपालिका-१ का ३५ वर्षीय दीपक तिमिल्सिना र सुनसरीको धरान उपमहानगरपालिका-१० का ३४ वर्षीय अनसन राई पक्राउ परेका थिए।

उनीहरूले सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित सेउती पुलमा साउन ५ गते साँझ को ३२ प १७९६ मोटरसाइकलमा सवार रोहितको गोली हानेर हत्या गरेका थिए।

धरानबाट इटहरी जाँदै गरेको अवस्थामा रोहितसँगै मोटरसाइकलको पछाडि सवार विराटनगर-३ की सुमना खत्रीलाई उनीहरूले पेस्तोल र खुकुरी देखाएर लुटपाट गर्न खोजेका थिए।

रोहितले लुटपाटको प्रतिकार गर्दा पक्राउ परेकामध्ये दीपकले उनलाई गोली हानेको खुलेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

गोली लागेर गम्भीर घाइते भएका रोहितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *