उत्तराखण्ड पहिरोमा बेपत्ता १३ नेपालीमध्ये ३ काे पहिचान खुल्यो
बेपत्ताकाे खोजी गर्न उत्तराखण्डका मुख्यमन्त्री धामीलाई परराष्ट्रमन्त्री साउदको फोन
बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ। पहिराेमा कालीकाेटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामी पनि परेकाे खुलेको हो।
भारतको राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरूका आफन्तबाट पहिचान खुलेको हो।
‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो,’ नयाँ दिल्लीबाट रासससँगकाे कुराकानीमा उनले भने।
घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रूपमा, स-साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले बताए। बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए।
बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए। बेपत्ताको खोजी जारी छ।
उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन्। सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ। बेपत्ताको खोजीका लागि नयाँदिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न मुख्यमन्त्री पुस्करसिंह धामीलाई आग्रह गरेका छन्।
शनिबार उत्तराखण्डका मुख्यमन्त्री धामीलाई टेलिफोनमार्फत रूद्रप्रयागमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धार गरिदिन आग्रह गरेका हुन्।
यसअघि परराष्ट्रमन्त्री साउदले शुक्रबार नै दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ता भएका नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।
प्रतिक्रिया