लुटपाटको उद्देश्यले गोली हानेर रोहित चौधरीको हत्या, दुई जना पक्राउ

मोरङको विराटनगर महानगरपालिका-५, कोचाखोलका २८ वर्षीय रोहित चौधरीको लुटपाटको उद्देश्यले गोली हानेर हत्या भएको खुलेको छ।

उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङको लेटाङ नगरपालिका-१ का ३५ वर्षीय दीपक तिमिल्सिना र सुनसरीको धरान उपमहानगरपालिका-१० का ३४ वर्षीय अनसन राई छन्।

उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले धरान पुतली लाइनबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो।

उनीहरूले सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित सेउती पुलमा साउन ५ गते साँझ को ३२ प १७९६ मोटरसाइकलमा सवार रोहितको गोली हानेर हत्या गरेका थिए।

धरानबाट इटहरी जाँदै गरेको अवस्थामा रोहितसँगै मोटरसाइकलको पछाडि सवार विराटनगर-३ की सुमना खत्रीलाई उनीहरूले पेस्तोल र खुकुरी देखाएर लुटपाट गर्न खोजेका थिए।

रोहितले लुटपाटको प्रतिकार गर्दा पक्राउ परेकामध्ये दीपकले उनलाई गोली हानेको खुलेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

गोली लागेर गम्भीर घाइते भएका रोहितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट अटोमेटिक चाइनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, खुकुरी २ थान, औंठी १ थान र गोलीको खोका १ थान बरामद गरेको छ।

प्रहरीका अनुसार घटनामा अर्का एक जनाको समेत संलग्नता देखिएको छ। हाल फरार उनको खोजी भइरहेको डीआईजी बास्तोलाले बताए।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरू असार ८, २३ र ३१ गते धरानका छुट्टाछुट्टै स्थानमा भएका शृंखलाबद्ध लुटपाटमा समेत संलग्न रहेको खुलेको छ।

उनीहरू यसअघि विभिन्न अपराधमा समेत कैद भुक्तान गरी छुटेका अभियुक्त रहेको प्रहरी अभिलेखबाट देखिएको छ।

पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडि छुटेका हुन्। तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी दुई वर्ष अगाडि छुटेका थिए।

उनीहरूविरूद्ध अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *