कञ्चनपुरको सीमावर्ती विपद् प्रभावित क्षेत्र कुतियाकवरमा उच्चस्तरीय सैनिक टोलीको अनुगमन

प्रायः घरायसी काम, खेतीपाती र सीमावर्ती भारतीय बजारमा मजदुरीमा व्यस्त रहने कञ्चनपुरको दोधारा चादँनी नगरपालिका-१०, कुतियाकवरका स्थानीय आज गाउँमै जम्मा भएका थिए। जोगबुढा नदीमा रहेको झोलुङ्गे पुल तर्दै लस्करै उच्चस्तरीय सैनिक टोली जोगबुढा र महाकाली नदीको दोसाँधको बस्ती कुतियाकवर पुगेपछि स्थानीयले वि. सं. २०२२ देखि सीमा रक्षक भएर विकट बस्तीमा भोग्नुपरेका समस्या सुनाए।

बाढी र डुबानबाट ग्रसित हुने कुतियाकवरको स्थलगत अवस्था र प्रभावित क्षेत्रको अनुगमनका क्रममा नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, पृतनाका सहायक रथी सूरज रावल र नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायक रथी मनोज थापालगायत सैनिक अधिकृतको टोली त्यहाँ पुगेको थियो।

बस्तीमा बाढीबाट बच्न निर्माण हुन लागेको ‘सेफ हाउस’ को छेउमा जम्मा भएका स्थानीयका तर्फबाट बस्तीका अगुवा टेकबहादुर सुनारले वि. सं. २०२२ देखि बसोबास रहे पनि वि. सं. २०२९ बाट बस्ती नदी कटान र डुबानको समस्याबाट ग्रसित रहेको बताए। दलित समुदायको बाहुल्यता रहेको सीमावर्ती कुतियाकवर गाउँमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि बाढी र नदी कटानकै कारण विस्थापित भएर त्यसो सङ्ख्या ४२ मा साघुरिएको सुनारको भनाइ थियो।

‘यति लामो समय सीमाको रक्षक भएर पनि अभावका बीच सिमाना जिन्दगी बितायौँ,’ छ वर्षदेखि कुतियाकवर सामुदायिक विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सुनारले सैनिक टोलीसामु भने, ‘२०७४ सालमा जोगबुढा पुलबाहेक बस्तीमा सरकारको कुनै सहयोग भएन, चुनावका बेला नेताले आश्वासन मात्रै छरे।’

उनले अझै पनि वर्षातका बेला बाढी बस्ती पस्दा तीन किलोमिटर टाढा रहेको अम्बिका माविमा आश्रय लिन जानुपर्ने अवस्था रहेको बताए। ‘वि. सं. २०७८ को बाढीपछि त हरेक वर्षातमा स्थानीयमा बाढीको त्रास नै रहन्छ,’ सुनारले भने, ‘अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा सेफ हाउस बन्दैछ।’ सीमावर्ती बस्तीको बाढी र कटानको समस्या बुझ्दै सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले वर्षातका बेला हुने बाढीलगायत विपद् व्यवस्थानका लागि सेना जनशक्ति र स्रोत साधनसहित तयार अवस्थामा रहेको बताए।

‘यहाँको वस्तुस्थिति हेर्दै स्थानीय नागरिक र स्थानीय तहसित समन्वय गरी बाढीका बेला जनधनको क्षति न्यूनीकरणका लागि हामी जहिल्यै अग्रसर छौँ,’ उनले भने, ‘वर्षातका बेला हरेक जिल्लामा तैनाथ सैनिक टोली विपत् व्यवस्थापन तथा क्षति न्यूनीकरणका लागि सदैव तयारी अवस्थामै रहन्छ।’

उनको टोलीले मङ्गलबार नै कञ्चनपुरको लालझाडी र पुनर्वास नगरपालिकामा बाढीबाट प्रभावित क्षेत्र क्षेत्रको अनुगमन गरेको थियो। त्यसैगरी दोधारा चादँनी नगरपालिकाका किशोरकुमार लिम्बूले बाढीबाट स्थानीयवासीलाई जोगाउन आवश्यक स्रोत साधनसहित नगरपालिकाले विभिन्न निकायसित छलफल र सहकार्य गरिरहेको बताए। उनले स्थानीय प्रशासन र स्थानीय तहबीच विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सहकार्य गर्न र साधन स्रोत जुटाएर जनशक्ति परिचालन गर्ने विषयमा सहमति जुटेको बताए।

कुतियाकवरमै जन्मिएका ४२ वर्षीय भीमसिंह सुनारले गाउँकै प्रमुख समस्या नै बाढी र नदी कटान रहेको बताए। ‘पचासौँ बिघा जमिन जोगबुढा र महाकाली नदीले कटान गरिसक्यो होला,’ उनले भने, ‘दुई नदीको दोसाँधको मुखमै बस्ती पर्ने भएकाले बढी क्षति हुँदै आयो।’

उनले जोगबुढामा पुल बनेपछि त्यहाँ डुङ्गामा आवातजावत गर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताए। बस्तीमा प्राथमिक तहको विद्यालय आवश्यक रहेको बताउँदै सुनारले अझै आधा घण्टा पैदल हिँडेर बालबालिका जोगबुढापारि अध्ययनका लागि जानुपर्ने बाध्यता रहेको बताए। पछिल्लो समय भारतीय पक्षसित भने सीमामा कुनै खालको वैमनश्यता नरहेको सुनारको भनाइ छ। ‘यहाँ हिउँदको खेतीले गुजारा गर्नुपर्ने बेला छ,’ सुनारले भने, ‘वर्षातको त पाउने की नदीले कटान गरी लैजाने भन्ने टुङ्गो नै हुँदैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *