गड्यौला मल उत्पादनमा जुट्दै भोजपुरका किसान

रासायनिक मलको प्रयोग घटाउँदै प्रांगािरक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन्। यहाँका दुईवटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन्।

कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ। कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा नं ५ बोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गड्यौला मल उत्पादन गरिरहेका छन्। उनीहरूलाई ७५ प्रतिशत अनुदानमा गड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रको भनाइ छ।

रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्रांगारिक वस्तु उत्पादनमा प्रोत्साहन गर्न गड्यौला मल उत्पादन तथा प्रांगारिक मल सुुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्री बताउँछन्। गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने भएकाले किसानलाई यो मलको उत्पादनसँगै प्रयोगमा जोड दिएको उनको भनाइ छ।

‘हामीले कृषकलाई प्राङ्गारिक खेतीमा जोड्न गड्यौला मल उत्पादनको कार्यक्रम सञ्चालन गरेका हौं,’ प्रमुख खत्री भन्छन्, ‘यहाँका ४० कृषकले यो मलको उत्पादन थाल्नुभएको छ। यो मलको धेरै फाइदा भएकाले किसानलाई जानकारी दिँदै मल उत्पादनमा प्रोत्साहन गर्दै आएका छौं।’

गाईभैंसीको मलमूत्रसँगै सड्ने झारपात प्रयोग गरेर गड्यौला मल तयार गरिने हुँदा अन्नबालीका लागि धेरै उपयोगी हुन्छ। यो प्रविधिबाट मल बनाउँदा गड्यौला पाल्नका लागि संरचना निर्माण गरेर त्यहाँ गड्यौला राखिन्छ। गड्यौला राखेको ठाउँमा पशु चौपायाको मललाई राखी दिएपछि त्यसलाई उनीहरूले आफ्नो आहाराका रूपमा खाएर दिसा गर्ने र त्यसैलाई मलको रूपमा प्रयोग गरिने उनी बताउँछन्।

‘यो प्रविधिबाट मल उत्पादन गर्दा पशु चौपायाको मलसँगै झारपात प्रयोग गरिन्छ,’ प्रमुख खत्री भन्छन्, ‘गड्यौलाले खाएर गरेको दिसालाई मलका रूपमा प्रयोग गर्ने हो। यो मल वातावरणीय हिसाबले पनि निकै उपयोगी हुन्छ। यसले माटोको उर्वराशक्ति वृद्धि गराउँछ।’

गड्यौला मलको प्रयोगले प्रांगारिक उत्पादनमा सहयोग पुग्ने किसानहरूको भनाइ छ। गड्यौला मलको प्रयोग गर्दै आफूहरूले प्रांगारिक तरकारी फलफूल उत्पादनमा जोड दिने न्यू जिम्पु कृषक समूह टक्सारका अध्यक्ष रुद्रमणि राई बताउँछन्।

गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यासमेत अन्त्य हुन्छ। ‘हाम्रो कृषक समूहका २० परिवारले यसको उत्पादन थालेका छौं,’ कृषक राई भन्छन्, ‘यो मलको प्रयोग गरेर प्राङ्गारिक बस्तु उत्पादनमा जोड दिएका छौं। गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यालाई समेत अन्त्य गर्ने हाम्रो उद्देश्य छ।’

माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल लाभदायक रहेको किसान राई बताउँछन्। गड्यौला मल उत्पादनका लागि ज्ञान केन्द्रले दुई कृषक समूहलाई २० लाख रुपैयाँ सहयोग गरिएको जनाएको छ।

एक किसानले ५० हजार रुपैयाँबराबरको गड्यौला पाल्न भर्मी बेड निर्माण गरेर गड्यौला मल उत्पादन गर्न थालेका छन्। राम्रो ढंगले गड्यौला पाल्न सकेमा वर्षमा तीन पटकसम्म मल निकाल्न सकिने कार्यालयले जनाएको छ। एकवटा भर्मी बेडबाट औसतमा नौ मेट्रिक टनसम्म मल उत्पादन हुने कार्यालयका अधिकृत विशाल राईको भनाइ छ।

‘गड्यौला मलसँगै प्रांगारिक मलको प्रयोगमा किसानलाई प्रोत्साहन गर्दै आएका छौं,’ उनी भन्छन्, ‘किसानहले ४० वटा भर्मी बेडमा यो मल उत्पादन थाल्नुभएको छ। राम्रो ढंगले गड्यौला फस्टाए वर्षमा तीन पटकसम्म मल निकाल्न सकिन्छ। सरदरमा एक भर्मी बेडबाट नौ मेट्रिक टनसम्म मल उत्पादन गर्न सकिन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *