चीनको उत्पादन क्षेत्रको गतिविधि लगातार चौथो महिना पनि निराशाजनक

विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई उकास्ने उद्देश्यले अधिकारीहरूले नयाँ उपायहरू जारी गरे पनि जुलाईमा चीनको विनिर्माण क्षेत्रको गतिविधि लगातार चौथो महिना सङ्कुचित भएको तथ्याङ्कले सोमबार देखाएको छ ।

नेशनल ब्यूरो अफ स्टाटिस्टिक्स (एनबीएस) का अनुसार आधिकारिक ‘म्यानुफ्याक्चरिंग पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई)’ ४९ दशमलव ३ मा आएको छ, जुन विस्तार र सङ्कुचनलाई छुट्याउने ५० अङ्कभन्दा कम हो ।

निर्माणसम्बन्धी गतिविधि जुलाईमा जूनको ४९ दशलमव ० को तथ्याङ्कभन्दा सामान्य बढी भए पनि यसमा सामान्य वृद्धि भएको छ । यो वृद्धि ब्लुमबर्ग सर्वेक्षणको पूर्वानुमानभन्दा राम्रो देखिएको छ ।

एनबीएसका तथ्याङ्कविद् झाओ किङ्हेले भने, ‘विनिर्माण समृद्धिको समग्र स्तरमा सुधार भइरहेको छ ।’

चीनले कोभिड-१९ पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन सङ्घर्ष गरिरहेको छ ।

सेवा र निर्माण क्षेत्रमा व्यावसायिक भावना मापन गर्ने गैर-विनिर्माण पीएमआई जुनमा ५३ दशमलव २ प्रतिशत रहेकोमा जुलाईमा ५१ दशमलव ५ प्रतिशत विन्दुमा झरेको छ । यसो हुनुमा चिनियाँ पूँजी बजार सेवाहरू र रियल इस्टेटका गतिविधिमा आएको सङ्कुचन जिम्मेवार रहेको देखिएको छ ।

हालैका महिनाहरूमा निराशाजनक आर्थिक तथ्याङ्कहरूले अधिकारीहरूलाई नयाँ आर्थिक समर्थन उपायहरू अनावरण गर्न उत्प्रेरित गरेको छ ।

सरकारले सोमबार उपभोग बढाउन २० बुँदे योजना सार्वजनिक गरेको छ, जसमा आवासको माग, संस्कृति र पर्यटन क्षेत्र र विद्युतीय सवारी जस्ता हरित खपतका लागि थप सहयोग समावेश छन् ।

यसै महिना चीनले दोस्रो त्रैमासिकमा आफ्नो अर्थतन्त्र ६ दशमलव ३ प्रतिशतले वृद्धि भएको बताएको थियो, जुन विश्लेषकहरूको सर्वेक्षणको आधारमा एएफपीले गरेको ७ दशमलव १ प्रतिशतको प्रक्षेपणभन्दा निकै कमजोर थियो ।

चिनियाँ शीर्ष नेताहरूले अर्थतन्त्रले ‘नयाँ कठिनाइ र चुनौतीहरू’ का साथै ‘प्रमुख क्षेत्रहरूमा लुकेका खतराहरू’ को सामना गर्नुपरेको चेतावनी दिएका छन् ।

झाओले सोमबार विदेशी मागको कम मात्रालाई सङ्केत गर्दै ‘जटिल तथा गम्भीर बाह्य वातावरण’ र कमजोर माग हुनुलाई चिनियाँ निर्माताहरूको लागि प्रमुख चुनौतीको रूपमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *