मानिसको ज्यानै लिने ‘बिच्छी’ को विषकाे मूल्य लिटरकै १३ करोड!

सर्पजस्तै बिच्छी पनि खतरनाक हुन्छन् र यिनीहरूले मानिसको ज्यानसमेत लिन सक्छन्। तर, अनाैठाे याे छ कि यिनीहरूको विष भने धेरै मूल्यवान हुन्छ।

एक लिटर बिच्छीको विषको मूल्य १० लाख अमेरिकी डलरसम्म पर्छ। यो नेपाली रकम १३ करोड रूपैयाँ बढी हुन आउँछ।

टर्कीको एउटा प्रयोगशालामा २०,००० बिच्छी छन्, जहाँ हरेक दिन दुई ग्राम बिच्छीको विष संकलन गरिन्छ।

प्रयोगशाला सञ्चालकले बीबीसीसँगको कुराकानीमा आफूले बिच्छीको हेरचाह गर्ने, समयमै खाना खुवाउने र विष निकालेर युरोपमा उचित मूल्यमा बेच्ने गरेको बताए।

उनका अनुसार एउटा बिच्छीको डसाइमा दुई मिलिग्राम मात्रै विष हुन्छ। करिब तीन सयदेखि चार सय बिच्छीको सहयोगमा एक ग्राम विष जम्मा गर्न सकिन्छ।

प्रयोगशालासँग जोडिएकी म्याडेनले बिच्छीको एक लिटर विष १० लाख डलरसम्ममा बिक्री हुने गरेको बताइन्।

के काममा उपयोग हुन्छ बिच्छीको विष?
ल्याटिन अमेरिकामा पाइने एक खास बिच्छीको विषबाट ‘मार्गा टक्सिन’ नामक पदार्थ उत्पादन हुन्छ, जसले रक्तनलीमा कोशिकाहरू निर्माण गर्न मद्दत गर्छ र मुटुको शल्यक्रियामा यसको प्रयोग गरिन्छ।

यी बिच्छीहरू पाँचदेखि आठ सेन्टिमिटर लामो हुन्छन्। यिनीहरूको विष त्यति घातक हुँदैन तर मानिसलाई टोकेमा असह्य दुखाइ, सुन्निने र चिलाउने समस्याले सताउँछ।

बिच्छीको डसाइबारे शोध गरिरहेका लीड्स युनिभर्सिटीका प्राध्यापक डेभिडले यो विष धेरै गुणकारी र यसको थोरै मात्रा पनि फाइदाजनक हुने बताए।

उनका अनुसार मार्गा टक्सिनलाई औषधिको रूपमा मात्र नभई मुटुसम्बन्धी रोगमा स्प्रेको रूपमा पनि प्रयोग गरिन्छ ।

आजकल बिच्छीको विषलाई सौन्दर्य प्रशाधन उत्पादनमा पनि प्रयोग गरिन्छ। -बीबीसी हिन्दीबाट अनुवाद गरिएकाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *