विराटनगरमा मजदुर कुटपिट गर्नेहरूविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताकाे तयारी

विराटनगरमा मजदुरमाथि निर्घात कुटपिट गर्नेहरूविरूद्ध ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता गर्ने तयारी गरिएकाे छ।

कुटपिटमा संलग्न विराटनगर महानगरपालिका-४ का १९ वर्षीय आयुष भेटवाल, उनका भाइ कुशल भेटवाल र अर्का रोशन कार्कीविरूद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नुपर्ने निष्कर्षसहितकाे अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, मोरङमा बुझाएको हाे।

प्रहरीले कुटपिटमा संलग्नहरूले मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) अन्तर्गत ज्यान मार्ने उद्योग कसुर गरेको देखिएकाले दफा १८३ (२) बमोजिम सजायको मागदाबी लिएर रायसहितको प्रतिवेदन बुझाएको हाे। अब सरकारी वकिलकाे कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ।

यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

आरती स्टिल उद्योगका मजदुर २७ वर्षीय पवन साहलाई उनीहरूले सांघातिक आक्रमण गरी बेहोस बनाई सडक किनारमा फालेर भागेका थिए। प्रहरीले आयुषलाई पक्राउ गरिसकेको छ । कुशल र रोशन भने फरार छन्।

मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार फरार रहेका दुवै जनाको खोजी भइरहेको छ।

स्टिल उद्योगमा कार्यरत साह काम सकेर सधैँझैँ साइकलमा विराटनगर महानगरपालिका-६ स्थित घर फर्कँदै थिए। २० असार साँझ ८ बजेतिर विराटनगर-४ स्थित कोसी राजमार्ग दूध फारम चोकमा पुग्दा उनीमाथि कुटपिट भएको थियो। बा१५च ३४४५ नम्बरको कारमा सवार विराटनगर-४ का १९ वर्षीय आयुषले साइकल रोक्दै साहको कन्चटमा मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

साह अचेत भएर सडकमा ढलेका थिए। सीसीटीभी फुटेज हेर्दा भेटवालले कारमा रहेका अर्का व्यक्तिलाई बोलाएर साहलाई घिसारेर सडक किनारमा लगेर छाडेको देखिन्छ। साहमाथि मुक्का प्रहार भएको घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले आयुषसहित उनका भाइ १८ वर्षीय कुशल र तेह्रथुम घर भएका ३० वर्षीय रोशनविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नुपर्ने बताएकाे हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *