वरिष्ठ सई पौडेल मृत्यु प्रकरण शंकास्पद, प्रहरी मुख्यालयको निर्देशनपछि शव परीक्षण पोखरामा हुने

होटलमा मृतावस्थामा फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको शव परीक्षण गण्डकी अस्पताल पोखरामा गरिने भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँको निर्देशनमा उनको शव परीक्षणको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोमबार राति मृत फेला परेको खबर सार्वजनिक भए पनि प्रहरीले मङ्गलबार साँझ उनको शवपरीक्षणको लागि धौलागिरि अस्पताल बागलुङ ल्याइएको थियो । प्रहरी प्रधान कार्यालयले पोखरा पठाउन निर्देशन दिएकाले बागलुङमा शवपरीक्षण नगरी पोखरा पठाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।

इञ्चार्ज पौडेल मृत फेला परेको होटलका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । बुधबार उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

‘इञ्चार्ज पौडेलको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेका हौंँ’ एसपी खड्काले भन,े ‘पौडेलले लगाएको सुनको सिक्री होटलको भान्छा कोठामा फेला परेको छ ।’ घटना शङ्कास्पद देखिएको जनाउँदै प्रहरी उपरीक्षकको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको थियो ।

आशा होटल एण्ड खाजा घरमा प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भने, ‘अनुसन्धान भइरहेकाले थप शङ्का गरिएका विषयमा अहिले नै केही भन्न मिल्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *